आजबाट बिक्रीमा आयो नबिल बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्र, कहाँबाट दिन सकिन्छ आवेदन ?

आइतबार, १० साउन २०७८, ०७ : १२

काठमाडौं - नबिल बैंक लिमिटेडले आजबाट वार्षिक ८ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले ७ वर्ष अवधिको ‘८ प्रतिशत नबिल डिबेन्चर २०८५’ निष्काशन तथा बिक्री खुला गरेको हो ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको छ । सोमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई बिक्री खुला गरिएको छ भने बाँकी १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ । 

सर्वसाधारणका लागि बिक्री गरिएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । ऋणपत्र खरिदका लागि छिटोमा साउन १३ गतेसम्ममा आवेदन दिनुपर्नेछ । उक्त अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि साउन २४ गतेसम्म लम्बिनेछ । 

लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।

लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् ।
 

आइतबार, १० साउन २०७८, ०७ : १२

प्रतिक्रिया