काठमाडौं - एशियन लाइफ इन्स्योरेन्स कम्पनी र युनाइटेड इन्स्योरेन्स कम्पनीले साधारण सभा बोलाएको छ । एशियन लाइफले आफ्नो १२औं वार्षिक साधारण सभा र युनाइटेड इन्स्योरेन्सले आफ्नो २७ औं वार्षिक साधारण सभा बोलाएको हो ।
एशियन लाइफ इन्स्योरेन्स कम्पनी
एशियन लाइफ इन्स्योरेन्सले आफ्नो १२औं वार्षिक साधारण सभा साउन ३१ गते गर्ने भएको छ । सभा होटल क्लासिक, सिमरा, बारामा बिहान ११:३० बजे शुरु हुने कम्पनीले जानकारी दिएको छ ।
सभाको प्रस्तावमा कम्पनीको पूँजी संरचनामा रहेको संस्थापक र सर्वसाधारण शेयर समूहको विद्यमान ७०स्३० अनुपातलाई ६० प्रतिशत संस्थापक र ४० प्रतिशत सर्वसाधारण शेयरमा परिणत गर्न प्रबन्धपत्रको दफा ६ संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्ने रहेको छ ।
साथै, कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा आर्थिक सहायता प्रदान गर्दा कम्पनी ऐन २०६३ को दफा १०५ उपदफा १ ग ले निर्धारण गरेको सीमाभन्दा बढी भएको खर्च रकमलाई अनुमोदन गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।
त्यस्तै, सभाको अन्य प्रस्तावमा आव २०७५/७६ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, संस्थापक शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ४ जना र सर्वसाधारण शेयरधनीको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने र एक जना स्वतन्त्र विज्ञ सञ्चालक मनोनित गर्ने रहेको छ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीको शेयरधनीदर्ता पुस्तिका साउन १७ गते (एक दिन) बन्द हुने छ । साउन १५ गतेसम्मका कायम शेयरधनी साधारण सभामा भाग लिन पाउनेछन् । कम्पनीको साउन ७ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।
युनाइटेड इन्स्योरेन्स
युनाइटेड इन्स्योरेन्सले आफ्नो २७ औं वार्षिक साधारण सभा साउन ३१ गते बोलाएको छ । सभा भर्चुअल माध्यमबाट बिहान ११ बजे शुरु हुने कम्पनीले जानकारी दिएको छ ।
सभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन पारित गर्नेछ । यसका साथै लेखापरीक्षण प्रतिवेदनसहित वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सहित अनुसूचीहरु पारित गर्ने र आर्थिक वर्ष २०७७/७८ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीलेसाउन २० गतेदेखि बुकक्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा साउन १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।
प्रतिक्रिया