तीन लघुवित्तको वित्तीय विवरण सार्वजनिक, कुनको अवस्था कस्तो ?

२ बर्ष अगाडि

काठमाडौं - विभिन्न तीन लघुवित्त वित्तीय संस्था लिमिटेडे गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । डिप्रोक्स लघुवित्त, समता घरेलु लघुवित्त र स्वरोजगार लघुवित्तले उक्त विवरण सार्वजनिक गरेका हुन् । 

१. डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड
डिप्रोक्स लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ७१ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १५९.५५ प्रतिशत बढी हो । 

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा सामान्य बढेपनि ३८ करोड ९८ लाख रुपैयाँ खराब कर्जा उठाउन सफल भएपछि लघुवित्तको नाफा उल्लेख्य बढ्न पुगेको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४२.७९ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ६६.३२ प्रतिशत बढेको छ । त्यसैगरी, लघुवित्तको चुक्ता पूँजी समीक्षा अवधिमा १५ प्रतिशत, जगेडा कोष ५५.३९ प्रतिशत, सापटी १९.६३ प्रतिशत, निक्षेप ३२.५५ प्रतिशत र कर्जा ३१.९० प्रतिशत बढेको छ ।

नाफा बढेसँगै लघुवित्तको ईपीएसमा पनि उल्लेख्य सुधार देखिएको छ । समीक्षा अवधिमा लघुवित्तको ईपीएस ३४ रुपैयाँ ३८ पैसा बढेर ६१ रुपैयाँ ७३ पैसा पुगेको छ । असार मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात २७.३१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २११ रुपैयाँ ९६ पैसा रहेको छ ।

२. समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड
समता घरेलु लघुवित्तले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तको अधिकांश सूचकमा सुधार देखिएको छ ।

समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी अर्थात ईपीएस ११ रपैयाँ ८ पैसा बढेर ३७ रुपैयाँ ९४ पैसा पुगेको छ । चुक्ता पूँजीको तुलनामा खुद नाफा धेरै बढेकोले लघुवित्तको ईपीएस बढ्न पुगेको हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद नाफा १११.११ प्रतिशत बढेको छ । खुद ब्याज आम्दानी ६५.९४ प्रतिशत बढेसँगै सम्भावित जोखिम बापतको व्यवस्था ९२ लाख ऋणात्मक हुँदा लघुवित्तको खुद नाफा उल्लेख्य बढ्न पुगेको हो ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ४९.४५ प्रतिशत बढेको छ भने जगेडा कोष ४३.११ प्रतिशत बढेको छ । त्यसैगरी, लघुवित्तको सापटी ६०.६४ प्रतिशत, निक्षेप ५४.५४ प्रतिशत र कर्जा ५७.९८ प्रतिशत बढेको छ ।

३. स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड
स्वरोजगार लघुवित्तको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तको खुद नाफा बढेको छ ।

असार मसान्तसम्ममा लघुवित्तले १५ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १६९.६४ प्रतिशत बढी हो । खुद ब्याज आम्दानी सामान्य बढेपनि सम्भावित जोखिम बापतको व्यवस्थामा कम रकम छुट्याएका कारण लघुवित्तको खुद नाफा उल्लेख्य बढ्न पुगेको हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३३.९३ प्रतिशत मात्र बढेको छ भने सञ्चालन मुनाफा ६०५।०६ प्रतिशत बढेको छ। सो अवधिमा लघुवित्तको प्रोभिजनिङ्ग २८.८८ प्रतिशत घटेको छ ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ६.२९ प्रतिशत बढेको छ भने जगेडा कोष ८८.७९ प्रतिशत बढेको छ । त्यसैगरी, लघुवित्तको सापटी ६८.७० प्रतिशत, निक्षेप ४८.०७ प्रतिशत र कर्जा ७५.४९ प्रतिशत बढेको छ ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी २२ रुपैयाँ ७३ पैसा बढेर ३७ रुपैयाँ ५२ पैसा पुगेको छ । त्यसैगरी, असार मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ३८.९८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५० रुपैयाँ ४२ पैसा रहेको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया