दुई लघुवित्तको वित्तीय विवरण सार्वजनिक, कुनकोे अवस्था कस्तो ?

आइतबार, १७ साउन २०७८, ०७ : ००

काठमाडौं - दुई लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेड र साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले उक्त विवरण सर्वजनिक गरेको हो । 

१. आशा लघुवित्त वित्तीय संस्था लिमिटेड
आशा लघुवित्तको गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा खुद नाफा उल्लेख्य बढेको छ । लघुवित्तले सार्वजनिक गरेको विवरण अनुसार समीक्षा अवधिमा लघुवित्तको खुद नाफा १७२.६६ प्रतिशत बढेर १२ करोड ७१ लाख रुपैयाँ पुगेको छ । 

अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको यस्तो नाफा ४ करोड ६६ लाख रुपैयाँ मात्र रहेको थियो । खुद ब्याज आम्दानी र अन्य सञ्चालन आम्दानी बढेसँगै खराब कर्जा उठाउन सफल भएका कारण लघुवित्तको खुद नाफामा उल्लेख्य सुधार भएको हो । 

यसका साथै लघुवित्तले सम्भावित जोखिम बापतको व्यवस्थामा कम रकम छुट्याएका कारण पनि खुद नाफा बढ्न टेवा पुगेको देखिन्छ । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ५४।९३ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १४९.३९ प्रतिशत बढेको छ। चैत मसान्तसम्ममा लघुवित्तले १ करोड ६० लाख रुपैयाँ खराब कर्जा उठाएको छ ।

समीक्षा अवधिमा लघुवित्तको जगेडा कोष २७६.५७ प्रतिशत बढेको छ भने सापटी ५१.९० प्रतिशत, निक्षेप ५६.९६ प्रतिशत र कर्जा ६३.१० प्रतिशत बढेको छ ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ३० रुपैयाँ १४ पैसा बढेर ४७ रुपैयाँ ६० पैसा पुगेको छ । चैत मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ३९।०६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६४ रुपैयाँ ९४ पैसा रहेको छ ।

२. साधना लघुवित्त वित्तीय संस्था लिमिटेड 
साधना लघुवित्तको अधिकांश सूचकहरुमा उल्लेख्य सुधार भएको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यको तुलनामा गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको जगेडा कोष करिब ७ गुणा अर्थात ५९४.३७ प्रतिशत बढेको छ । 

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी भने स्थिर रहेको छ । त्यसैगरी, समीक्षा अवधिमा लघुवित्तको खुद नाफा १९६.३५ प्रतिशत बढेर ११ करोड ७० लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको यस्तो नाफा ३ करोड ९५ लाख रुपैयाँ मात्र रहेको थियो ।

खुद ब्याज आम्दानी र अन्य सञ्चालन आम्दानी बढेसँगै सम्भावित जोखिम बापतको व्यवस्थामा कम रकम छुट्याएका कारण खुद नाफा बढ्न टेवा पुगेको देखिन्छ । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ७२.९१ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ३३९.३६ प्रतिशत बढेको छ । चैत मसान्तसम्ममा लघुवित्तले ३ करोड ३७ लाख रुपैयाँ खराब कर्जा उठाएको छ ।

समीक्षा अवधिमा लघुवित्तको सापटी १२४.५४ प्रतिशत, निक्षेप ८३.४२ प्रतिशत र कर्जा ९१.११ प्रतिशत बढेको छ । नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ३० रुपैयाँ १९ पैसा बढेर ४५ रुपैयाँ ५७ पैसा पुगेको छ । 

चैत मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ३६.९१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५२ रुपैयाँ २८ पैसा रहेको छ ।

आइतबार, १७ साउन २०७८, ०७ : ००

प्रतिक्रिया