सरकारले ३ अर्ब रुपैयाँ निकासा नगर्दा रोकियो कोरोना बीमाको दाबी भुक्तानी

आइतबार, १७ साउन २०७८, १७ : ०५

काठमाडौं - सरकारले रकम निकासा नगर्दा कोरोना बीमाको दाबी भुक्तानी रोकिएको छ । कोरोना बीमा मापदण्ड अनुसार सरकारले आफ्नो दायित्वमा पर्न गएको रकम निकासा नगर्दा दाबी भुक्तानी रोकिएको हो ।

कोरोना बीमा मापदण्ड अनुसार कोरोना बीमा दाबी भुक्तानी बीमा कम्पनी, पुनर्बीमा कम्पनी, बीमा समिति र सरकारले व्यहोर्नु पर्ने प्रावधान छ । प्रावधान अनुसार बीमा कम्पनी, पुनर्बीमा कम्पनी र बीमा समितिले आफ्नो दायित्वमा परेको रकम भुक्तानी गरीसकेका छन् ।

३ अर्ब ५० करोड रुपैयाँ भुक्तानी गरे पछि कम्पनीहरुले कोरोना बीमा मापदण्ड अनुसार चैत महिनामा नै कोरोना बीमा दाबी भुक्तानीको लागि सरकारसँग साढे ३ अर्ब रुपैयाँ माग गरेका थिए । माग गरिएको महिनौ बितिसक्दा पनि सरकारले आफ्नो दायित्वमा पर्न आएको रकम नदिएको भन्दै कम्पनीहरुले साउन १४ गतेदेखि भुक्तानी कार्य रोकेका हुन् ।

कोरोना बीमा मापदण्ड अनुसार पहिलो एक अर्ब रुपैयाँसम्मको दाबी भुक्तानी बीमा कम्पनीले तिर्नुपर्ने व्यवस्था छ । एक अर्बभन्दा माथि दुई अर्ब रुपैयाँसम्म पुनर्बीमा कम्पनी र दुई अर्ब भन्दा माथि दुई अर्ब ५० करोडसम्म बीमा कम्पनीहरुको महाविपत्ती पुलबाट ब्यहोर्नु पर्नेछ । 

दुई अर्ब ५० करोडमाथि ३ अर्ब ५० करोड रुपैयाँसम्मको दायित्व बीमा समितिले बहन गर्नुपर्ने हुन्छ । 
 

आइतबार, १७ साउन २०७८, १७ : ०५

प्रतिक्रिया