काठमाडौं - सप्तकोशी डेभलपमेन्ट बैंकको नाफा करिब १०५ प्रतिशतले नाफा बढेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासम्मको वित्तीय विवरणले यस्तो देखाएको हो ।
अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा ३ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले गत आर्थिक वर्षको सोहि अवधिमा ६ करोड १९ लाख ३८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको तुलनामा १०४.८३ प्रतिशतले धेरै हो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी भने घटेको छ । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी २.१६ प्रतिशतले घटेर २१ करोड ७२ लाख रुपैयाँमा झरेको छ । खुद ब्याज आम्दानी घटेपनि बैंकको इपेरिमेन्ट चार्ज रिभर्स हुँदा उसको सञ्चालन नाफा बढेको छ ।
जसले गर्दा खुद नाफा बढ्न सहयोग पुगेको हो । बैंकको सञ्चालन नाफा ११२.३२ प्रतिशतले बढेको छ भने फि तथा कमिसन मार्फत हुने आम्दानी पनि ३४.५२ प्रतिशतले बढेको छ ।
नाफा बढेसँगै बैंकको वितरणयोग्य नाफा पनि १ करोड ३० लाख रुपैयाँबाट बढेर ७ करोड ४४ लाख रुपैयाँ पुगेको छ । ८३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बेंकको जगेडा कोषमा ९ करोड ८० लाख रुपैयाँ रहेको छ भने रिटेर्न अर्निङमा ७ करोड ४४ लाख रुपैयाँ रहेको छ ।
बैंकको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ६२ पैसाबाट बढेर बढेर ७ रुपैयाँ ४२ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ पनि १२० रुपैयाँ ६७ पैसा पुगेको छ। बैंकको मूल्य आम्दानी अनुपात ४९.१७ गुणा रहेको छ ।
बैंकको निक्षेप संकलन ३२.६१ प्रतिशतले बढेर ४ अर्ब ५१ करोड १७ लाख रुपैयाँ पुगेको छ भने कर्जा लगानी ४२.४६ प्रतिशतले बढेर ३ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ । बैंकको खराब कर्जा पनि ३.९२ प्रतिशतबाट घटेर १.४४ प्रतिशतमा झरेको छ ।
प्रतिक्रिया