नाफा बढाउँदै नेरुडे, निर्धनको खुद नाफालाई ‘राइट ब्याक’को टेवा

विहीबार, २१ साउन २०७८, ०७ : ५१

काठमाडौं - नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड र निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छन् । विवरण अनुसार लघुवित्तहरुको खुद नाफामा उल्लेख्य बढेको देखिएको छ ।

नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड
लघुवित्तले १८ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १५७.३२ प्रतिशत बढी हो ।

खुद ब्याज आम्दानी र अन्य सञ्चालन आम्दानी बढेसँगै कर्मचारी खर्च र अन्य सञ्चालन खर्च नियन्त्रण गरेका कारण लघुवित्तको खुद नाफामा उल्लेख्य सुधार देखिएको हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४७.७८ प्रतिशत बढेको छ भने अन्य सञ्चालन आम्दानी ७३.७३ प्रतिशत र सञ्चालन मुनाफा १५७.३२ प्रतिशत बढेको छ ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ८ प्रतिशत र जगेडा कोष ४१.०१ प्रतिशत बढेको छ । त्यस्तै, लघुवित्तको सापटी ६४.८० प्रतिशत, निक्षेप २०.०४ प्रतिशत र कर्जा लगानी ४४.०७ प्रतिशत बढेको छ ।

नाफा बढेसँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि उल्लेख्य सुधार भएको छ । उक्त अवधिमा लघुवित्तको यस्तो आम्दानी २१ रुपैयाँ ४३ पैसा बढेर ३६ रुपैयाँ ९२ पैसा पुगेको छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ २२८ रुपैयाँ ६३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४३.३३ गुणा रहेको छ ।

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड 
गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ९१ करोड ९१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २२३.२६ प्रतिशत बढी हो ।

सञ्चालन मुनाफा ऋणात्मक भएपनि खराब कर्जा उठाउन सफल भएका कारण लघुवित्तको खुद नाफामा उल्लेख्य सुधार देखिएको हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४३.५४ प्रतिशत बढेको छ भने अन्य सञ्चालन आम्दानी २५.४२ प्रतिशत बढेको छ । उक्त अवधिमा लघुवित्तको सञ्चालन मुनाफा २ अर्ब ८० करोड ३८ लाख रुपैयाँ ऋणात्मक छ । 

सम्भावित जोखिम बापतको व्यवस्थामा ४ अर्ब २६ करोड २३ लाख रुपैयाँ छुट्याएपछि लघुवित्तको सञ्चालन मुनाफा ऋणात्मक हुन पुगेको हो । समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी १३ प्रतिशत र जगेडा कोष ५१.३९ प्रतिशत बढेको छ । 

त्यस्तै, लघुवित्तको सापटी ८.८६ प्रतिशत घटेको छ भने निक्षेप १८.५७ प्रतिशत र कर्जा लगानी १९।४९ प्रतिशत बढेको छ । नाफा बढेसँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि उल्लेख्य सुधार भएको छ । सो अवधिमा लघुवित्तको यस्तो आम्दानी ३५ रुपैयाँ २७ पैसा बढेर ५४ रुपैयाँ २३ पैसा पुगेको छ । 
 

विहीबार, २१ साउन २०७८, ०७ : ५१

प्रतिक्रिया