काठमाडौं - साउन १४ गतेदेखि नेपाली धितोपत्रको दोस्रो बजारमा कारोबार शुरु गरेको जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले ६८ करोड ९५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । विवरण अनुसार उक्त अवधिसम्ममा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १०१.९७ प्रतिशत बढी खुद नाफा कमाएको छ ।
सञ्चालन मुनाफा घटेपनि खराब कर्जा उठाउन सफल भएका कारण लघुवित्तको खुद नाफामा उल्लेख्य सुधार देखिएको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४९.२९ प्रतिशत बढेको छ भने अन्य सञ्चालन आम्दानी ३०२.६१ प्रतिशत बढेको छ ।
उक्त अवधिमा लघुवित्तको सञ्चालन मुनाफा भने ९.४६ प्रतिशत घटेको छ । उक्त अवधिसम्ममा लघुवित्तले सम्भावित जोखिम बापतको व्यवस्थामा ७६ करोड १७ लाख रुपैयाँ छुट्याउँदा सञ्चालन मुनाफा घट्न पुगेको हो । यद्यपि, उक्त अवधिसम्ममा लघुवित्तले ६७ करोड १७ लाख रुपैयाँ खराब कर्जा उठाएको छ जसले गर्दा नाफा बढ्न पुगेको हो ।
अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा लघुवित्तको चुक्ता पूँजी ३३४.५७ प्रतिशत र जगेडा कोष १३७.६२ प्रतिशत बढेको छ । समीक्षा अवधिमा लघुवित्तको सापटी १९३.१७ प्रतिशत बढेको छ भने निक्षेप ४३.८८ प्रतिशत र कर्जा लगानी ९१.८७ प्रतिशत बढेको छ ।
प्रतिक्रिया