काठमाडौं - साउन यता बैंकहरुको कर्जा लगानी जम्मा ५ अर्ब रुपैयाँले बढेको छ । तर, निक्षेप संकलन भने घटेको छ ।
गत असार मसान्तसम्ममा ३७ खर्ब २१ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंकहरुले साउन २० गतेसम्ममा ३७ खर्ब २६ अर्ब रुपैयाँ कर्जा लगानी गरेको केन्द्रिय बैंकले जनाएको छ । उतm लगानी ५ अर्ब रुपैयाँको बृद्धि हो ।
गत आर्थिक वर्षको अन्तिमतिर दैनिक करिब २ अर्बले कर्जा लगानी बढाउदै आएका बैंकहरुको नयाँ आर्थिक वर्ष लागेपछि कर्जा लगानी केहि कम देखिएको छ । नयाँ आर्थिक वर्ष लागेको २० दिनमा ५ अर्ब रुपैयाँ कर्जा विस्तार हुनु भनेको दैनिक करिब २५ करोड रुपैयाँ मात्रै कर्जा लगानी भएको देखिन्छ ।
यसैगरी निक्षेप संकलन घटेको छ । साउन महिनाको २० दिनमा बैंकहरुको निक्षेप संकलन ५१ अर्ब रुपैयाँले घटेको छ । यो दैनिक साढे २ अर्ब रुपैयाँले घटेको हो।
असार महिनामा सरकारी खर्चको कारण उच्च रुपले बढेको निक्षेप संकलन, साउन लागेपछि सुस्ताएको हो । असार अन्तिम दुई सातामा मात्रै बैंकहरुको निक्षेप संकलन १५३ अर्ब रुपैयाँले बढेको थियो । तर साउन लागेसँगै बैंकहरुको निक्षेप संकलन घट्दो क्रममा देखिएको हो ।
प्रतिक्रिया