नबिल बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन, कति छ ब्याजदर ?

आइतबार, २४ साउन २०७८, ०९ : ५८

काठमाडाै- नबिल बैंकको ऋणपत्रमा आवेदन दिने आइतबार अन्तिम दिन रहेको छ । बैंकले साउन १० गतेदेखि ३ अर्बको ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको थियो ।

यसअघि साउन १४ गतेसम्म आवेदन गर्ने समय रहेकोमा सो अवधिमा १० प्रतिशत ऋणपत्र पनि बिक्री हुन नसकेपछि ढिलो मिति अर्थात साउन २४ गतेसम्म आवेदन दिने म्याद लम्बिएको थियो ।
बैंकले ऋणपत्रमा लगानी गर्ने लगानीकर्तालाई वार्षिक ८ प्रतिशत ब्याजदर प्रदान गर्नेगरी ‘८ प्रतिशत नबिल डिबेन्चर २०८५’ नाम दिइएको ७ वर्ष अवधिको ऋणपत्र निष्काशन गरेको हो । उक्त ऋणपत्र प्रतिइकाई एक हजार रुपैयाँ अंकित दरमा बिक्रीमा आएको छ ।

बैंकले बिक्रीमा ल्याएको ३ अर्बको कुल ३० लाख कित्ता ऋणपत्रमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई बिक्रीमा ल्याइएको हो । जसमध्ये ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ११ लाख ४० हजार कित्ता सर्वसाधारणबाट माग गरिएको थियो ।

ऋणपत्रमा लगानी गर्न इच्छुक लगानीकर्ताले सिडिएस एण्ड क्लियरिङको मेरो शेयर सफ्टवेयर तथा मोबाइल एप, नेपाल धितोपत्र बोर्डबाट सि आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सी आस्बाको माध्यमबाट आवेदन गर्न सक्नेछन् ।
ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गरी छिटोमा साउन १३ गतेसम्म रहेको थियो ।

निष्काशित ऋणपत्रमध्ये १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गर्नेछ ।

ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा ‘इक्राएनपी आईआर डबल ए माइनस’ रेटिङ्ग प्रदान गरेको छ । सो रेटिङ्ग प्राप्त गर्ने संस्थाहरुलाई समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा उच्च मात्रामा सुरक्षित तथा न्यून कर्जा जोखिम रहेको जनाउँछ ।

आइतबार, २४ साउन २०७८, ०९ : ५८

प्रतिक्रिया