काठमाडौं - कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ३ अर्ब ६९ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.८९ प्रतिशत बढी हो ।
बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । विवरण अनुसार बैंकको खुद ब्याज आम्दानी घटेपनि खुद ट्रेडिङ्ग आम्दानी र अन्य सञ्चालन आम्दानी बढेको र इम्पेरमेन्ट चार्ज घटेका कारण खुद नाफा बढ्न टेवा पुगेको हो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.७३ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी १५.६० प्रतिशत घटेको छ । तर, बैंकको खुद ट्रेडिङ्ग आम्दानी ३९ करोड २१ लाख रुपैयाँबाट बढेर ९५ करोड ८४ लाख रुपैयाँ पुगेको छ भने अन्य सञ्चालन आम्दानी ३ करोड ५९ लाख रुपैयाँबाट बढेर ५० करोड २९ लाख रुपैयाँ पुगेको छ । त्यसैगरी, बैंकको सञ्चालन मुनाफा २१.०३ प्रतिशत बढेको छ ।
बैंकको इम्पेरमेन्ट चार्ज समीक्षा अवधिमा ५१ करोडबाट घटेर २ करोडमा सीमित भएको छ । उक्त अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ७३ करोड ५० लाख रुपैयाँ रहेको छ । खुद नाफा बढेपनि बैंकको प्रतिशेयर आम्दानी भने घटेको छ ।
गत आर्थिक वर्षमा १५ प्रतिशत बोनस शेयर वितरण चुक्ता पूँजी बढाएको यस बैंकको यस्तो आम्दानी अघिल्लो आर्थिक वर्षको असार मसान्तको तुलनामा ८० पैसा घटेर ३० रुपैयाँ ६५ पैसामा झरेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १५.६३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २३५ रुपैयाँ ५८ पैसा रहेको छ ।
प्रतिक्रिया