काठमाडौं - हिमालयन जनरल इन्स्योरेन्सले गत आर्थिक वर्षको अन्त्यसम्ममा इन्स्योरेन्सले २५ करोड ९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ३.९७ प्रतिशत कम हो ।
कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । विवरण अनुसार समीक्षा अवधिमा इन्स्योरेन्सको खुद नाफा १०.३६ प्रतिशत घटेर १५ करोड ५५ लाख रुपैयाँमा सीमित भएको छ ।
गत आर्थिक वर्षमा ३ प्रतिशत बोनस शेयर वितरण गरी चुक्ता पूँजी बढाएको यस इन्स्योरेन्सको जगेडा कोष समीक्षा अवधिमा २२.७५ प्रतिशत बढेको छ । त्यसैगरी, समीक्षा अवधिमा इन्स्योरेन्सको बीमा कोष १३.८४ प्रतिशत बढेको छ भने महाविपत्ति कोषमा कुनै परिवर्तन भएको छैन ।
इन्स्योरेन्सले उक्त अवधिसम्ममा पुनर्बीमा कमिशन बापत ११ करोड ४८ लाख रुपैयाँ आम्दानी गरेको छ । खुद नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि घटेको छ । असार मसान्तसम्ममा इन्स्योरेन्सको यस्तो आम्दानी १४ रुपैयाँ १४ पैसा रहेको छ ।
जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २ रुपैयाँ ११ पैसा कम हो । सो अवधिसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ५४.३२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८५ रुपैयाँ २२ पैसा रहेको छ ।
प्रतिक्रिया