काठमाडौं - नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार लघुवित्तको खुद नाफामा उल्लेख्य सुधार छ ।
गत असार मसान्तसम्ममा लघुवित्तले ३२ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३०७.६१ प्रतिशत बढी हो । लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै सम्भावित जोखिम बापतको व्यवस्थामा रकम घट्दा खुद नाफा उल्लेख्य बढेको हो ।
खुद नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी (ईपीएस) पनि बढेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ४७ रुपैयाँ ४७ पैसा बढेर ७७ रुपैयाँ ७३ पैसा पुगेको छ । सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ४६.३५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २३३ रुपैयाँ ६९ पैसा रहेको छ ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १३०.३१ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ३०७.६१ प्रतिशत बढेको छ । सो अवधिसम्ममा लघुवित्तले सम्भावित जोखिम बापत ४ करोड ७२ लाख रुपैयाँ व्यवस्था गरेको छ ।
प्रतिक्रिया