काठमाडौं - नेपाल बैंक लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा खुद नाफा ३ अर्ब नाघेको छ भने वितरण योग्य मुनाफा करिब साढे ३ अर्ब पुगेको छ ।
बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले ३ अर्ब ६ करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३१.४० प्रतिशत बढी हो ।
बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै खुद नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १४.९८ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १९।०१ प्रतिशत बढेको छ ।
त्यसैगरी, बैंकको सञ्चालन मुनाफा २८.३५ प्रतिशत बढेको छ । बैंकको इम्पेरमेन्ट चार्ज समीक्षा अवधिमा ८७ करोड ९६ लाख रुपैयाँबाट घटेर ४१ करोड ८६ लाख रुपैयाँमा झरेको छ ।
उक्त अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ४९ करोड ७० लाख रुपैयाँ रहेको छ । खुद नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३ रुपैयाँ ५८ पैसा बढेर २४ रुपैयाँ २६ पैसा पुगेको छ ।
गत आर्थिक वर्षमा १२ प्रतिशत बोनसशेयर वितरण गरी चुक्ता पूँजी बढाएको बैंकको जगेडा कोष समीक्षा अवधिमा ९.९९ प्रतिशत बढेको छ । त्यसैगरी, बैंकको निक्षेप १४.९९ प्रतिशत र कर्जा ३०.२३ प्रतिशत बढेको छ ।
प्रतिक्रिया