काठमाडौं - नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ३१ अर्ब ९६ करोड ९३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १६.९३ प्रतिशत बढी हो ।
कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले यस्तो देखाएको हो । समीक्षा अवधिमा कम्पनीको खुद नाफा १.०५ प्रतिशत बढेर ५३ करोड ५९ लाख रुपैयाँ पुगेको छ ।
गत आर्थिक वर्षमा ३१ प्रतिशत बोनस शेयर वितरण गरी चुक्ता पूँजी बढाएको यस इन्स्योरेन्सको जगेडा कोष समीक्षा अवधिमा ७१.०३ प्रतिशत घटेको छ । त्यसैगरी, समीक्षा अवधिमा इन्स्योरेन्सको बीमा कोष २९.२९ प्रतिशत बढेको छ भने महाविपत्ति कोष ६.१३ प्रतिशत बढेको छ ।
इन्स्योरेन्सले सो अवधिसम्ममा १९ अर्ब ५४ करोड रुपैयाँ जीवन बीमालेख धितो कर्जा प्रवाह गरेको यस इन्स्योरेन्स १ अर्ब ८३ करोड रुपैयाँ आम्दानी गरेको छ । चुक्ता पूँजीको तुलनामा खुद नाफा बढाउन नसक्दा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी भने घटेको छ ।
असार मसान्तसम्ममा इन्स्योरेन्सको यस्तो आम्दानी २ रुपैयाँ २१ पैसा घटेर ७ रुपैयाँ ४४ पैसामा झरेको छ । सो अवधिसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात २५७.८० गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२२ रुपैयाँ ३० पैसा रहेको छ ।
प्रतिक्रिया