काठमाडौं - नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड (एनसीसी) र मुक्तिनाथ विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् ।
विवरण अनुसार एनसीसी बैंकको खुद ब्याज आम्दानी सामान्य घटेपनि खुद नाफा भने बढेको छ । यस्तै मुक्तिनाथ विकास बैंकको खुद मुनाफामा बृद्धि आएको छ ।
नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड
एनसीसी बैंकले गत असार मसान्तसम्ममा १ अर्ब २७ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.६८ प्रतिशत बढी हो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ०.२७ प्रतिशत घटेको छ भने नेट फि तथा कमिशन आम्दानी १४.६० प्रतिशत बढेको छ । त्यसैगरी, बैंकको सञ्चालन मुनाफा ११.९१ प्रतिशत बढेको छ । बैंकको इम्पेरमेन्ट चार्ज ४० करोड ५६ लाख रुपैयाँबाट बढेर ४१ करोड ९२ रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १०.२७ प्रतिशत बढेको छ भने जगेडा कोष १२.१७ प्रतिशत बढेको छ । त्यसैगरी, बैंकको निक्षेप ४६.४९ प्रतिशत र कर्जा ४५.३९ प्रतिशत बढेको छ ।
खुद नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ४७ पैसा बढेर १२ रुपैयाँ ३२ पैसा पुगेको छ । असार मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २९.७८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४१ रुपैयाँ ४० पैसा रहेको छ ।
मुक्तिनाथ विकास बैंक लिमिटेड
मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा १ अर्ब १५ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । उक्त नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ६२.७० प्रतिशतले बढि हो । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ७० करोड ७४ रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
अहिलेसम्म वित्तिय विवरण प्रकाशन गर्ने विकास बैंकहरुमा यो नै सबैभन्दा बढि मुनाफा हो । तेस्रो त्रैमाससम्मको वित्तिय विवरण अनुसार पनि यो बैंक नेपालको इतिहासमै एक अर्ब भन्दा बढि मुनाफा कमाउने पहिलो विकास बैंक बनेको थियो ।
समिक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा पनि बढेर ८६ करोड ५ लाख ३२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक बर्षमा बैंकको यस्तो मूनाफा ४७ करोड ३३ लाख ६३ हजार रुपैयाँमा सिमित थियो ।
समिक्षा अवधीमा बैंकले ८६ अर्ब ९० करोड ३० लाख बढी निक्षेप संकलन गरी ७३ अर्ब ८९ करोड ९५ लाख रुपैयाँ बढी कर्जा परिचालन गरेको छ । त्यस्तै अघिल्लो आर्थिक बर्षको अन्तिमसम्ममा ०.४६ प्रतिशत रहेको खराब कर्जा समिक्षा अवधीमा घटेर ०.२५ प्रतिशतमा पुगेको छ ।
साथै बैंकको सञ्चालन नाफा ६१.५८ प्रतिशतले बढेर १ अर्ब ६३ करोड ७६ शजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकको सञ्चालन नाफा १ अर्ब ८८ लाख रूपैयाँमा सिमित थियो ।
समिक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ९२ पैसा रहेको छ अघिल्लो आर्थिक बर्षको तुलनामा प्रतिसेयर आम्दानी ७ रुपैयाँ ५६ पैसाले बढेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १४१ रुपैयाँ ४९ पैसा पुगेको छ बैंकको पीई रेसियो २७.४७ गुणा रहेको छ ।
प्रतिक्रिया