तलब भत्ताले चिया खान समेत नपुगेपछि ब्यापार गर्ने मन्त्री गुरुङ्गको चाहना

आइतबार, २७ भदौ २०७८, २० : ०६

 गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजिव गुरुङ्गले आफ्नो तलब भत्ताले  चिया खान समते नपुग्ने भन्दै अब ब्यापार गर्ने सोँच बनाएको बताएका छन् । 

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सम्पत्ति विवरण नबुझाएको प्रसंग निस्किएपछि मन्त्री गुरुङ्गले ५८ सालदेखि व्यापार छाडेको ब्यापार फेरी शुरु गर्ने बताए । ‘अब फेरि व्यापार गर्ने ट्राइ गरिरा’छु । भात त खानुपर्‍यो हेर्नुस् । यो पैसाले त चिया खान पनि पुग्दैन ।’

गण्डकीका मूख्यमन्त्री र अन्य मन्त्रीले सम्पत्ति विवरण सार्वजनिक गरेपनि मनाङ्गेले भने बुझाएकै छैनन् ।  भ्रष्टाचार निवारणसम्बन्धी ऐन, २०५९ अनुसार पदभार सम्हालेको २ महिनाभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने नियम छ । 

‘सबै मन्त्रीले सम्पत्ति विवरण बुझाइसके, तपाईंले किन बुझाउनु भएन ? भन्ने प्रश्नको जवाफमा मन्त्री गुरुङ्गले भने आफ्नो सम्पत्तिको विषयमा आफै स्पष्ट नभएको बताए । ‘मेरो सम्पत्तिबारे म आफैं कन्फ्युज छु,’ उनले भने, ‘जम्मै पहिलेको छोराछोरी, श्रीमतीको नाममा राखिदिइसकेको छु । मेरो भनौं भने मलाई एक आना जग्गा दिने पनि होइनन् ।’

कुनै समय गुण्डा नाइके दीपक मनाङे भनेर समेत चिनिएका मनाङेले ‘केटा’हरुलाई थुप्रै लगानी गरिदिएको तर, त्यताबाट फिर्ता नआएको उनले बताए । ‘पहिले बिजनेस गर्दा केटाहरुलाई लगानी गर्देको छु । धेरै यस्तो पैसा छ, जुन मसँग आएको छैन,’ उनले भने, ‘मेरो नाममा केही छैन । आउनेवाला छ भनेर लेख्न पनि गाह्रो ।’

२०५६ सालभन्दा अगाडि जोडेको केही सम्पत्ति रहेको, तर त्यसमा पनि मुद्दा मामिला परेको उनले बताए । ‘जसलाई मैले बैना हान्यो, बैना गर्ने मान्छे पनि ठगै रैछ, त्यस्तो मुद्दावाला  ३/४ वटा प्रोपर्टी छ,’ उनले भने, ‘त्यो प्रोपर्टी पनि अहिलेको होइन, पहिलेकै दामवाला हो । एक–डेढ लाखवाला ।’

गुरुङ्गले २०७० सालमा अवैध सम्पत्ति जोडेको आरोपमा सम्पत्ति शुद्धीकरणको मुद्दा खोपेका थिए ।

२०७४ सालमा विशेष अदालतबाट सफाइ पाएका उनी प्रहरीले ‘रिस’ गरेर मुद्दा हालेको बताउँछन् ।

तर सम्पत्ति विवरण कहिले सार्वजनिक गर्ने भन्ने प्रश्नको प्रष्ट जवाफ भने दिएनन् । ‘म त गइहालें । तपाईंहरु एकैछिन बस्दै गर्नुस्’ भन्दै उनी बाहिरिएका थिए ।
 

आइतबार, २७ भदौ २०७८, २० : ०६

प्रतिक्रिया