सर्वोत्तम सिमेन्टले सिमेन्ट उत्पादनका लागि प्राधिकरणबाट थप ९ मेगावाट विद्युत पाउने

१ बर्ष अगाडि

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले सिमेन्ट उत्पादनका लागि नेपाल विद्युत प्राधिकरणबाट थप ९ मेगावाट विद्युत प्राप्त गर्ने भएको छ । 

यस सम्बन्धमा असार १७ गते विद्युत प्राधिकरण र सर्वोत्तम सिमेन्टबीच विद्युत खरिदबिक्री सम्झौता सम्पन्न भएको हो । सम्झौतामा प्राधिकरणका तर्फबाट निर्देशक सच्चिदानन्द यादव र सर्वोत्तम सिमेन्टका तर्फबाट कम्पनी सचिव  नवराज पौडेलले हस्ताक्षर गरेका छन् । 

सम्झौताअनुसार सर्वोत्तम सिमेन्टलाई हाल ८ मेगावाट विद्युत प्रदान गरिरहेकोमा थप ९ मेगावाट विद्युत प्रदान गर्ने सहमति भएको छ। यस सँगै सर्वोत्तम सिमेन्टले अब १७ मेगावाट विद्युत प्राप्त गर्ने भएको छ । यसका लागि थप विद्युत प्राप्त गर्नको लागि आवश्यक हुने विद्युतिय सामग्री तथा ट्रान्सफरमर जडान कार्य अगाडि बढाइएको छ ।  

कम्पनीले आन्तरिक स्रोतको सदुपयोग गर्दै देशभित्र उत्पादित जलविद्युतको खपत देशभित्रै बढाउने सरकारको योजनामा सघाउनुका साथै यसअघि सिमेन्ट उत्पादनका लागि अन्य स्रोतबाट प्राप्त गरिरहेको उर्जाको खपतलाई समेत घटाउन मद्दत पुग्ने विश्वास लिएको छ । 

विशेषगरी यसअघि सिमेन्ट उत्पादनका लागि आवश्यक उर्जा थर्मल, फर्नेस ओयल तथा डिजेल प्लान्टको सञ्चालनबाट प्राप्त गर्दै आएको र ठूलो परिमाणमा डिजेलको खपत हुने गरेकोमा विद्युतीय ऊर्जा प्राप्त गरेपश्चात यसले डिजेललगायतका बाह्य स्रोतबाट प्राप्त यस्ता ऊर्जाको स्रोत खपत कम गर्न सघाउने विश्वास कम्पनीले लिएको छ । 

यसले उल्लेख्य मात्रामा खर्च घटाउनेसमेत कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष केसीले बताए । कम्पनीले सर्वोत्तम ब्रान्डमा हाल दैनिक ३ हजार मेट्रिकटन क्लिंकर र ३ हजार मेट्रिकटन सिमेन्ट उत्पादन गरिरहेको तथा निकट भविष्यमै २–२ हजार मेट्रिकटन क्षमता थप गर्ने तयारी गरिरहेको छ भने सर्वप्रथम बुक बिल्डिङ विधिबाट सार्वजनिक सेयर निष्कासनको क्रममा समेत रहेको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया