कांग्रेसको घोषणापत्र : आगामी पाँच वर्षभित्र १० हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य, ५० किलोवाट आवर निःशुल्क बिजुली

१ बर्ष अगाडि

काठमाडौं - सरकारले यसअघि घोषणा गरेजस्तै आगामी पाँच वर्षभित्र कूल १० हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्यका साथ नेपाली कांग्रेसले शनिबार आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ ।

सरकारको योजनाअनुसार काम भएको खण्डमा आर्थिक वर्ष २०८४/८५ सम्म मा देशभित्र कूल १५ हजार मेगावाट बिजुली उत्पादन हुनेछ तर, कोरोना कहर तथा अन्य अनेकन कारणले सरकारको सो महत्वाकांक्षी लक्ष्य पूरा हुने अवस्था भने छैन । 

यद्यपि, आगामी पाँच वर्षभित्र १० हजार मेगावाट बिजुली भने उत्पादन हुने अवस्था देखिएको छ । हाल निर्माणको चरणमा झण्डै तीन हजार पाँच सय मेगावाट क्षमताका आयोजना छन् । त्यस्तै, झण्डै पाँच हजार मेगावाट क्षमताका आयोजना निर्माणमा जाने तयारीमा छन् ।

प्रणालीमा हाल दुई हजार तीन सय मेगावाट बिजुली जोडिसकेको छ । यस आधारमा हेर्दा आगामी दश वर्षमा १० हजार मेगावाट बिजुली उत्पादन हुने वस्तुगत आधार छ । त्यसका लागि थप लगानीको विस्तार गर्नुपर्ने आवश्यकता छ । 

त्यसमा स्वदेशी लगानीको प्रवद्र्धन, विदेशी लगानीको खोजी तथा अन्य बहुपक्षीय एवम् दातृ निकायबाट सहुलियतपूर्ण ऋण तथा अनुदान लिएर भए पनि लगानी बिस्तार गर्ने सरकारको सोच छ ।

कांग्रेसको संकल्पपत्रमा विपन्न परिवारहरुले प्रयोग गर्ने विद्युतको हकमा मासिक ५० किलोवाट आवरसम्म निःशुल्क दिइने प्रतिबद्धता व्यक्त गरिएको छ । हाल सरकारले २० किलोवाट आवरसम्म निःशुल्क विद्युत उपलब्ध गराउँदै आएको छ ।

वर्तमान सरकार गठन भएपछि नै ऊर्जा क्षेत्रमा उल्लेख्य प्रगति भएको छ । झण्डै आठ सय मेगावाट बराबरको बिजुली गत आर्थिक वर्षमा प्रणालीमा जोडिइएको छ। चालु आवमा झण्डै एक हजार मेगावाट बिजुली प्रणालीमा जोडिने सरकारको नीति तथा कार्यक्रम र बजेटमा समेत समावेश छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया