एक वर्षमै ओलीको नेतृत्व असफल, भाषणले नआउने भयो समृद्धि

आइतबार, ०५ फागुन २०७५, १३ : २७

काठमाडौँ – नेकपाका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको एक वर्ष पूरा भएको छ । २०७४ साल फागुन ३ गते गठन भएको वर्तमान सरकारबाट नेपाली जनताले ठूलो अपेक्षा गरेको भएपनि त्यो पूरा नहुने अवस्था आएको छ । राजनीतिक विश्लेषकहरुका अनुसार डेमागम शैलीमा सत्तामा आएका ओलीले दैनिक जसो भाषण मात्रै गर्ने र काम नगर्ने विशेष स्वभावलाई सतहमा ल्याइदिएका छन् ।

उनले आफ्नो आलोचना गर्नेलाई नजिक पर्नै नदिने र कुनै पनि रचनात्मक काम समेत गर्न नसक्ने स्वभाव देखाएका छन् । जनतालाई बाँडिएका सपना कुनै पनि पूरा भएका छैनन् । जनताले अपेक्षा गरेको कुनै पनि काम अगाडि बढ्न सकेको छैन ।

जनताका लागि भनेर गरिएका हरेक जसो निर्णयमा नाफाखोर व्यापारी र दलालहरुको सक्रिय सहभागिता रहने गरेको छ । नेपाली जनताको भावना र चाहना भन्दा पनि त्यस्तै दलालहरुको फन्दामा सरकार परेको  भन्दै चौतर्फी आलोचना भएको छ । तर प्रधानमन्त्री ओली त्यस्ता आलोचना सुन्नै तयार छैनन् ।  

 नेपाली जनताको समृद्धिको सपना समेत ओली नेतृत्वको सरकारले पूरा गर्न सकेको छैन । भाषण गरेको भरमा समृद्धि नआउने भन्दै पुनः ओली नेतृत्वको सरकारको खिसी टिउरी सूरु भएको छ । पार्टी एकताको काम समेत पूरा हुन सकेको छैन भने जनताको अपेक्षा समेत पूरा नभएको अवस्थामा ओली निरन्तरताको एक कार्यकारी भन्दा फरक देखिएका छैनन् ।

काठमाडौँको सडकको धुलो हटाउन छाडेर ओली पानीजहाजको पछाडि दौडिएका छन् । जनतालाई शिक्षा स्वास्थ्यमा सुविधा दिन छाडेर ओली रेलको पछाडि दौडिएको राजनीतिक विश्लेषकहरुको भनाइ छ । उनले समयको माग र आवश्यकतालाई सम्बोधन गर्नेभन्दा केही सिमित व्यक्तिको इच्छालाई सम्बोधन गर्न लागिपरेका छन् । उनले नेपालको महत्वपूर्ण समयलाई बर्वाद पारिदिएको जानकारहरुको टिप्पणी छ । 
नेकपालाई जुन विश्वासका साथ नेपाली जनताले भरोसा गरेका थिए ।, त्यो एक वर्षको अवधिमा एक प्रतिशत पनि पूरा  हुन सकेको छैन ।

राजनीतिक नेतृत्व विश्वसनिय भन्दा पनि अविश्वसनिय बढी बन्दै आएको छ । उनीहरु बाहिर एउटा भन्ने र भित्र अर्को गर्ने अवस्थामा पुगेका छन् । सरकारले जनतामा ल्याएको निराशाले संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था प्रति नै नागरिकको वितृष्णा बढ्न सक्ने तर्फ ध्यान दिनु पर्ने अवस्था आएको छ । जो आएपनि केही पो हुँदो रहेनछ भन्ने अवस्था व्याप्त भएको छ । यस्तो अवस्थामा नेकपाले अब गम्भीर समिक्षा गरेरै जानुपर्ने अवस्था आएको जानकारहरुले बताएका छन् । 

आइतबार, ०५ फागुन २०७५, १३ : २७

प्रतिक्रिया