काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले स्ववियू निर्वाचन चैत्र महिनाभित्र सम्पन्न गरि सक्नुपर्ने प्रस्ताव अघि सारेका छन् । मन्त्री पोखरेलले स्ववियू निर्वाचन चैत्र महिनाभित्र सम्पन्न गर्न सहयोग गर्न प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेससँग पनि आग्रह गरे ।
सोमबार प्रतिनिधिसभा बैठकमा प्रश्नोत्तर कार्यक्रममा भाग लिँदै उनले स्ववियू निर्वाचन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले पहल गरिसकेको उल्लेख गर्दै त्यसमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको सहयोगको अपेक्षा गरिएको पनि स्पष्ट पारे ।
बैठकमा सांसद रामकुमारी झाँक्रीले स्ववियू निर्वाचन गर्ने योजना के छ ? भनि प्रश्न गरेकी थिइन् । मन्त्री पोखरेलले चैत्र महिनाभित्र स्ववियू निर्वाचन गर्न सरकार तयार रहेको उल्लेख गर्दै त्यसका लागि आवश्यक सहयोग गर्न प्रमुख प्रतिपक्ष नेपाली काँग्रेससँग आग्रह पनि गरे । नयाँ शैक्षिक सत्र सुरु हुनुअघि नै स्ववियू निर्वाचन गर्न उपयुक्त हुने मन्त्री पोखरेलको भनाई छ ।
यता,स्ववियू निर्वाचनको कार्यतालिका अझै सार्वजनिक नगरेको भन्दै सत्तारुढ नेकपा निकट विद्यार्थी संगठनहरुले सोमबारनै त्रिभुवन विश्वविद्यालयका उपकूलपतिको कार्यालय समेत धर्ना दिएका थिए । मन्त्री पोखरेलले विद्यालय तहको शैक्षिक सुधारका लागि सरकारले राष्ट्रिय नीति नै तय गर्न लागेको पनि जानकारी दिए ।
बैठकमा सांसदहरु डा. डिला संग्रौला, प्रेम सुवाल, रामकुमारी झाँक्री, यज्ञराज सुनुवारलगायतका सांसदहरुले देशभर रहेका बालविकास केन्द्रसहितका विद्यालयहरुको भौतिक पूर्वाधारको लागि उचित व्यवस्था गर्न मन्त्री पोखरेलको ध्यानाकर्षण गराएका थिए ।
प्रतिक्रिया