प्रभु-सेञ्चुरी बैंकबीच एकीकृत कारोबार शुरु

मंगलबार, २६ पुस २०७९, ११ : ५६

काठमाडौं - प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ति गरी आजदेखि एकीकृत कारोबार शुरु भएको छ । 

बैंकका अध्यक्ष लीलाप्रकाश सिटौलाको अध्यक्षतामा आयोजित विशेष समारोहका बीच पूर्व अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य देविप्रकाश भट्टचनले एक समारोहका बीच एकीकृत कारोबार शुभारम्भ गरेका हुन् । कार्यक्रममा तत्कालीन सेञ्चुरी बैंकका अध्यक्ष राजेश श्रेष्ठ, सञ्चालकहरुसहित विशिष्ठ व्यक्तिहरुको उपस्थिति रहेको थियो । 
दुई बैंक एक भई आजदेखि प्रभु बैंक लिमिटेडको नाममा एकीकृत कारोबार शुरु भएको हो । 

दुई बैंक एक भएपछि कूल सम्पत्ति ३ खर्ब ४० अर्ब, चुक्ता पूँजी २३ अर्ब, कूल निक्षेप २ खर्ब ८४ अर्ब, कूल ऋण लगानी २ खर्ब ५३ अर्ब, शाखा सञ्जाल ३६५, एटीएम सञ्जाल ३०९, एक्सटेन्सन काउन्टर ७२ र ग्राहक संख्या ३० लाख बढी भएका छन् । उक्त अवसरमा बैंकका सीईओ अशोक शेरचनले सरल, सबल र प्रविधिमैत्री बैंक बन्नका लागि प्रयासरत रहने प्रतिबद्धता जनाए ।

प्रभु र सेञ्चुरी १ः१ को शेयर स्वाप रेसियोमा मर्ज भएका हुन । सेञ्चुरीलाई प्राप्ति पछि प्रभु बैंककै अशोक शेरचन सीईओ  रहका छन् भने सेञ्चुरीका सीईओ मनोज न्यौपाने वरिष्ठ डेपुटी सीईओ भएका छन् । सञ्चालकमा ३ जना सेञ्चुरीबाट समावेश हुने यसअघि नै सहमति भइसकेको छ । प्रभुले सेञ्चुरीलाई प्राप्ति गर्ने सम्बन्धी प्रारम्भिक सहमति पत्रमा साउन  १५ गते हस्ताक्षर भएको थियो । 

मंगलबार, २६ पुस २०७९, ११ : ५६

प्रतिक्रिया