काठमाडौँ- ब्रान्डिङ र प्याकेजिङमा सशक्त रूपमा काम गर्न नसक्दा नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार उपस्थिति कमजोर बन्न पुगेको विज्ञहरूले औंल्याएका छन् ।
ब्रान्डिङ, आकर्षक प्याकेजिङमा हामीले लगानी नै गर्न सकेनौं, जसले सम्भाव्यता रहँदारहँदै पनि हाम्रा उत्पादन अन्तर्राष्ट्रिय बजारमा सशक्त रूपमा जान नसकेको उनीहरूको भनाइ छ ।
नेपाल उद्योग वाणिज्य महासंघले सोमबार ललितपुरमा आयोजना गरेको लघु घरेलु तथा साना उद्योग सम्मेलन ९एसएमइज० मा सहभागी विज्ञहरूले यस्तो धारणा राखेका हुन् । राम्रो प्याकेजिङ र ब्रान्डिङ गर्न सक्ने हो भने नेपालका थुप्रै वस्तु विभिन्न देश निर्यात गर्न सकिने उनीहरूको भनाइ छ ।
उक्त अवसरमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्टार्टअप र परियोजना कर्जासम्बन्धी कार्यविधि छिट्टै पारित गरी कार्यान्वयनमा ल्याइने बताए । लघु, घरेलु, साना तथा मझौला उद्यमीहरूले सहज रूपमा कर्जा पाउन नसकिरहेको गुनासो आइरहेका बेला अर्थमन्त्री पौडेलले स्टार्टअप र परियोजना कर्जासम्बन्धी कार्यविधि छिट्टै कार्यान्वयनमा ल्याइने प्रतिबद्धता जनाएका हुन् । लघु घरेलु तथा साना उद्योगका लागि मुख्य चुनौतीका रूपमा देखिएका वित्तीय पहुँच, बजार प्रवर्द्धन, दक्ष जनशक्ति, प्रक्रियागत झन्झट, ब्याजदरलगायतमा सम्बोधन गर्न सरकार तयार रहेको उनको भनाइ छ । लघु तथा घरेलु, साना र मझौला उद्योगलाई प्रवर्द्धन गर्ने र यस क्षेत्रका समस्या समाधानका लागि सार्थक उपाय खोज्नुपर्ने उनले बताए । बैंकहरूको ब्याजदर कम हुँदै गएकाले अझै घट्नुपर्नेमा अर्थमन्त्री पौडेलले जोड दिए । ‘ब्याजदर महँगो भयो भन्ने चर्चा छ, ब्याजदर कुनै न कुनै रूपमा मुद्रास्फीतिसँग जोडिएको छ, त्यसैले त्यसलाई नियन्त्रण गर्दै महँगो ब्याजदरलाई पनि सीमाभित्र राख्न पहल गर्नुपर्छ,’ उनले थपे, ‘मेरा प्रयास त्यसमा केन्द्रित हुनेछन् ।’ अहिले साना–ठूला सबै उद्योगको क्षमता करिब ६० प्रतिशतले घटेकाले महँगो ब्याजले लगानी विस्तार त परको कुरा उद्यम टिकाउनसमेत समस्या भइरहेको महासंघका अध्यक्ष शेखर गोल्छाको भनाइ छ ।
‘नेपाल राष्ट्र बैंकका अनुसार ०७९ मंसिर मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले ४ खर्ब २३ अर्ब १५ करोड ९५ हजार रुपैयाँ लघु, साना र मझौला औद्योगिक कर्जा लगानी गरेका छन्,’ उनले भने, ‘जुन बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कुल कर्जाको ८.८६ प्रतिशत हो । र, यो एकदमै न्यून भएकाले बढाउन थप पहल आवश्यक छ ।’ उद्यमीलाई परियोजनामा आधारित कर्जा उपलब्ध गराउनुपर्नेमा समेत उनको जोड छ । उद्यमीलाई परियोजनामा आधारित कर्जा उपलब्ध गराउनसमेत उनले आग्रह गरे । करिब १७ लाखलाई रोजगार दिइरहेको लघु तथा घरेलु, साना र मझौला उद्योग क्षेत्रमा आधुनिक प्रविधि प्रयोग गर्दै बजारको मागअनुसार गुणस्तरीय उत्पादन आपूर्ति गर्न सके ठूलो आर्थिक उन्नति गर्न सकिने सम्भावना रहेको गोल्छाले बताए । नेपालमा सञ्चालित ९९ प्रतिशत उद्योग व्यवसाय घरेलु साना एवं मझौला उद्यम छन् । कुल गार्हस्थ्य उत्पादनमा उद्योग क्षेत्रको योगदान ५।६ प्रतिशत छ भने त्यसमा ९० प्रतिशत हिस्सा छ ।
एसएमइजलाई सघाउन महासंघले एसएमइज सेवा केन्द्र सञ्चालनमा ल्याउने तयारी गरिरहेको र बिस्तारै यसलाई सबै प्रदेशमा लैजाने महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको भनाइ छ । नेपाल उद्योग वाणिज्य महासंघले १० बुँदे घोषणापत्र जारी गर्दै एसएमइज सम्मेलन सम्पन्न भएको छ । महासंघले हरेक दुई वर्षमा केन्द्रमा र हरेक वर्ष प्रदेश तहमा लघु, घरेलु, साना एवं मझौला उद्यम सम्मेलन गर्ने, लघु, घरेलु, साना एवं मझौला उद्यम सहायता केन्द्रमार्फत उद्यमीहरूलाई निरन्तर आवश्यक सेवा प्रदान गर्नेलगायत घोषणापत्रमा समावेश गरिएको छ ।
घोषणापत्रमा स्टार्टअप नीति तत्काल कार्यान्वयन गर्न सरकारसँग सहकार्य गर्ने, सबै प्रदेशमा स्टार्टअप प्रोत्साहन केन्द्र स्थापना गर्न केन्द्र र प्रदेश सरकारसँग सहकार्य गर्ने उल्लेख छ । ‘लघु घरेलु साना तथा मझौला उद्यमीका उत्पादनलाई देशभित्रै सञ्चालित ठूला उद्योगसँग जोड्न निरन्तर पहल र पैरवी रहनेछ । स्वदेशी कच्चा पदार्थको उत्पादन बढाउन पहल गरिनेछ,’ घोषणापत्रमा भनिएको छ ।
प्रतिक्रिया