काठमाडौँ । पछिल्ला वर्षमा विप्रेषण अर्थात् रेमिट्यान्स नेपाल पठाउने देशको सूचीमा अमेरिका सबैभन्दा माथि परेको अधिकारीहरूले बताएका छन् ।
यसअघि कतार, साउदी अरेबिया, मलेशिया लगायतका राष्ट्रबाट धेरै रेमिट्यान्स भित्रिने गर्थ्यो भने यसपटक तिनलाई उछिनेर सबैभन्दा माथि अमेरिका आएको हो । चालु आर्थिक वर्षको ६ महिनामा अमेरिकाबाट सबैभन्दा धेरै झण्डै ८२ अर्ब रुपैयाँ विप्रेषण आएको सरकारी आँकडाले देखाउँछ ।
सरकारले यसलाई गैरकानूनी रुपमा भित्रिने पैसालाई निरुत्साहित गर्न सुरु गरेका केही प्रयास सफल भएको रुपमा अथ्र्याएको छ । करिब चार वर्षअघि सबैभन्दा धेरै विप्रेषण पठाउने मुलुकको सूचीमा अमेरिका पाँचौ स्थानमा रहेको थियो ।
अघिल्लो आर्थिक वर्ष र चालू आर्थिक वर्षमा भने त्यहाँबाट आउने रकम ह्वात्तै बढेको देखिएको नेपाल राष्ट्र बैंकका विदेशी विनिमय विभागका प्रमुख भिष्म ढुंगानाको भनाइ छ । गत आर्थिक वर्षमा अमेरिकाबाट १ अर्ब ५२ करोड, साउदी अरेबियाबाट ८८ करोड, कतारबाट ७७ करोड अमेरिकी डलर आएको थियो । पछिल्लो ६ महिनामा पनि अमेरिका नै अगाडि छ ।
यसअघि धेरैजसो हुन्डीजस्ता अनौपचारिक बाटोमार्फत् भित्रने त्यस्तो रकम अचेल कानुनी बाटोबाट धेरै आउन थालेको र सँगसँगै अमेरिकामा नेपाली रेमिट्यान्स कम्पनीका एजेन्टहरू बढ्न थालेको राष्ट्र बैँकका अधिकारीहरु बताउँछन् । विनिमय विभागका प्रमुख ढुंगानाका अनुसार खाडी देशका अर्थतन्त्रमा देखिएका केही आन्तरिक समस्याका कारण पनि त्यहाँबाट विप्रेषण पहिलेजसरी आउन सकिरहेको छैन ।
त्यसो त केही समययता नेपाल भित्रिने रेमिट्यान्सको प्रवृत्तिमा समेत परिवर्तन आएको छ । गत आर्थिक वर्षको ६ महिनामा ०.५ प्रतिशतले घटेको रेमिट्यान्स आप्रवाह चालु आर्थिक वर्षको सोही अवधिमा ३०.२ प्रतिशतले वृद्धि भएको राष्ट्र ब्याङ्कको तथ्यांकले देखाउँछ ।
यस्तै अघिल्ला वर्षका तुलनामा वैदेशिक रोजगारीका लागि जाने मानिसहरूको संख्यामा कमी आउँदा पनि रेमिट्यान्स आप्रवाह भने बढेको सरकारी आँकडाले देखाउँछ ।
प्रतिक्रिया