नेपाल लाइफ इन्स्योरेन्सको नाफामा उछाल

सोमबार, २३ माघ २०७९, १४ : ३२

काठमाडौँ -  जीवन बीमा कम्पनी नेपाल लाइफले चालू आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीको खुद नाफामा दुई सय ३७ दशमलव २९ प्रतिशतको उछाल आएको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १३ करोड चार लाख ९९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकोमा चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले ४४ करोड एक लाख ६० हजार रुपैयाँ आर्जन गरेको छ । यस अवधिसम्ममा १८ अर्ब ६२ करोड ७४ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ भने आठ अर्ब ४४ करोड २५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ ।  समीक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी १६ प्रतिशतले बढेको छ । पुस मसान्तसम्म कम्पनीको लगानी २० दशमलव ४६ प्रतिशत बढेर एक खर्ब ५६ करोड ४५ लाख ३२ हजार रुपैयाँ पुगेको छ ।

यस अवधिमा कम्पनीको चुक्ता पुँजी १४ प्रतिशत बढेर आठ अर्ब २० करोड ७९ लाख ६६ हजार रुपैयाँ, जीवन बीमा कोष २१ प्रतिशत बढेर एक खर्ब ५० अर्ब ८५ करोड ६४ लाख ८२ हजार रुपैयाँ र महाविपति कोष १६ प्रतिशत बढेर ८३ करोड ३६ लाख ४९ हजार रुपैयाँ पुगेको छ । त्यसैगरी समीक्षा अवधिमा २१औँ तथा २२औँ वार्षिक साधारणसभा सम्पन्न गरी लाभांश वितरण गरी सकिएकोले जगेडा कोष ४८ करोड चार लाख ४९ हजार रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १० दशमलव ७३ रुपैयाँ रहेको छ । यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ एक सय १६ रुपैयाँ एक पैसा र मूल्य अनुपात आम्दानी ६८ दशमलव ४४ गुणा रहेको छ ।

 
 

सोमबार, २३ माघ २०७९, १४ : ३२

प्रतिक्रिया