हिमालयन-सिभिल मर्जर : सीईओ पोखरेल बाहिरिँदै,

बुधबार, २५ माघ २०७९, १६ : ४९

काठमाडौं-  हिमालयन बैंकसँग एकीकृत कारोबारको तयारीमा रहेको सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल पोखरेल बाहिरिने भएका छन् ।

 सिभिल बैंक हिमालयनमा गाभिएपछि सीईओ पोखरेल स्वेच्छिक अवकास सुविधा (भिआरएस) मा बाहिरिने भएका हुन् ।

यसअघि उनी हिमालयन बैंकको वरिष्ठ डीसीईओ बन्ने सहमति थियो । पछिल्लो समय कर्मचारी समायोजनामा कुरा नमिलेपछि उनी भिआरएस सुविधामा बाहिरिने भएका हुन् ।

 सीईओ पोखरेल बाहिरिए पछि सिभिल बैंकको कर्मचारीको तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सचिन जंग रायमाझीको नेतृत्वमा हिमालयन बैंकमा जानेछ । हिमालयन बैंकमा उनी चौथो वरियता पाउनेछन् ।

हाल सीईओ पोखरल मातृ शोकमा परेको कारणले पनि दुई बैंकबीच एकीकृत कारोबार सरेको हो । 

हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार फागुन १० गते गर्ने निर्णय भएको छ । यसअघि माघ १८ गते एकीकृत कारोबार गर्ने तयारी भएपनि केही प्राविधिक कारणले एकीकृत कारोकार रोकिएको थियो । अब एकीकृत कारोबार फागुन १० गते गर्ने निर्णय भएको सञ्चालक बोगटीले बताए ।

हिमालयन बैंक र सिभिल बैंकबीच गत असार २९ गते प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । प्रारम्भिक सम्झौता हुँदा मर्जरपश्चात् पनि हिमालयन बैंकको सञ्चालक समिति कायम रहने सहमति भएको छ ।

साथै, मर्जर पश्चात् बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा हिमालयन बैंकका अशोक राणा रहनेछन् । सम्झौता अनुसार हिमालयन बैंक र सिभिल बैंक १००ः८०.२८ को स्वाप रेसियोमा मर्ज हुने भएका हुन् । अर्थात् सिभिल बैंकको १०० कित्ता सेयर बराबर हिमालयन बैंकको ८०.२८ कित्ता सेयर अनुपात हुने भएको छ ।

बुधबार, २५ माघ २०७९, १६ : ४९

प्रतिक्रिया