काठमाडौं – नेपाल एक कृषि प्रधान मुलुक भनेर चिनिने गर्दछ । कृषि प्रदान देश भनिएता पनि पछिल्ला दिनमा चामल, मकै, भटमास, आलु, स्याउ जस्ता खानेकुरा आयातका लागि अर्बौं रुपैयाँ बाहिरिएको छ ।
कृषि उत्पादन बढ्न नसक्दा खाद्यान्नमा नेपालको परनिर्भरता चुलिँदै गएको छ । कृषि तथा पशुपक्षी मन्त्रालयका अनुसार चालू आर्थिक वर्ष (आव) २०७५/७६ को ५ महीनामा मात्रै चामल, मकै, भटमास, आलु, स्याउ आयातका लागि अर्बौं बाहिरिएको छ ।
मन्त्रालयका अनुसार चामलमा १३ अर्ब ५८ करोड, मकैमा ५ अर्ब १९ करोड, भटमास आयातमा ७ अर्ब ५ करोड रुपैयाँ बाहिरिएको हो ।
बजारमा आलुको माग धान्ने गरी उत्पादन नबढेकाले आलुको आयात उकालो लागेको हो । आव २०७४/७५ मा ६ अर्ब ३५ करोड रुपैयाँको आयात भएकामा चालू आवको पहिलो ५ महीनामै रू ३ अर्ब ९९ करोड पैठारी भइसकेको छ । यस्तै, चालू आवको पहिलो ५ महीनामा रू २ अर्ब ५६ करोडको स्याउ आयात भएको छ । आव २०७४/७५ मा स्याउ पैठारी गर्न ५ अर्ब ६३ करोड रुपैयाँ बाहिरिएको थियो ।
कृषिमन्त्री माथी प्रधानमन्त्रीको गुनासो
प्रधानमन्त्री कार्यालयमा गत आइतवार प्रधानमन्त्री केपी शर्मा ओलीले केहिदिन अघि आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनका निम्ति ठोस कार्ययोजना बनाउन नसकेको भन्दै कृषिमन्त्री चक्रपाणि खनालको आलोचना गरेका थिए ।
मन्त्री खनालले दीर्घकालीन योजना बनाउन नसक्दा यो अवस्था सृजना भएको भन्दै दीर्घकालीन योजना बनाएर परिणाममुखी काम गर्न कृषिमन्त्री खनाललाई प्रधानमन्त्री ओलीले निर्देशन दिएका थिए ।
प्रतिक्रिया