२ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बुधबार, ०३ फागुन २०७९, ११ : ५०

काठमाडौँ- उपकार लघुवित्त र अपी पावरको लाभांश सुरक्षित गर्ने आज फागुन ३ गते अन्तिम मौका रहेको छ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ उपकार लघुवित्त र अपी पावर कम्पनीले भोलि फागुन ४ गते बुक क्लोज गर्दैछन्। यसको अर्थ आज फागुन ३ गतेसम्म कायम सेयरधनीहरुमात्रै यी कम्पनीको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्। 


उपकार लघुवित्तले आफ्नो १४औँ वार्षिक साधारणसभा आउँदो फागुन १८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा बाँकेको बैजनाथ–१ स्थित गाभर भ्याली (सामुदायिक होमस्टे)मा आयोजना गरिनेछ। 

सभाले आर्थिक वर्ष २०७८/७९का लागि प्रस्तावित चुक्तापुँजीको कुल ६५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ६१.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ३.२५ प्रतिशतले हुन आउने नगद लाभांश छन्। 

सभाले संस्थापक र सर्वसाधारण समूहबाट २–२ जना सञ्चालकको निर्वाचन पनि गर्नेछ। 

सोही सभाले उक्त आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। 

यसैगरी अपी पावरले आफ्नो १९ औँ वार्षिक साधारणसभा यही फागुन १४ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा काठमाण्डौको थापागाउँस्थित बानेश्वर ब्यांक्वेटमा बिहान ११ बजेबाट हुनेछ। 

सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजी ३ अर्ब ८४ करोड ४९ लाख रुपैयाँको कुल ७.८९ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३९ प्रतिशत नगद लाभांश छन्। 

सोही सभाले बोनस सेयर वितरणपछि कायम हुने चुक्तापुँजीको १ः०.४ अर्थात ४० प्रतिशतले हुन आउने १ अर्ब ६५ करोड ३४ लाख रुपैयाँबराबर हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ। उक्त हकप्रदबाट उठेको रकम कम्पनीले सञ्चालन गरी विद्युत उत्पादन गरिरहेका जलविद्युत र सौर्य विद्युत आयोजनाहरुको ऋणमोचन गर्न उपयोग गरिने कम्पनीले जनाएको छ। 

बोनस सेयर र हकप्रद सेयर सेयर जारी गर्ने प्रयोजनका लागि कम्पनीको पुँजी संरचनामा वृद्धि हुने भएको हुँदा सो प्रयोजनका लागि प्रबन्धपत्रको दफा ६ संशोधन गर्ने विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ। 

हकप्रद जारी गर्न नियमनकारी निकायहरुमा आवश्यक कार्य गर्न कम्पनीको सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि सभाले स्वीकृत गर्नेछ। 

सोही सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गर्नेछ।

बुधबार, ०३ फागुन २०७९, ११ : ५०

प्रतिक्रिया