नेपाल बीमा प्राधिकरणको तालिम सम्पन्न

शुक्रबार, ०५ फागुन २०७९, १७ : ३९

 काठमाडौं - नेपाल बीमा प्राधिकरणले कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता आधारभूत तालिम प्रदान गरेको छ । प्राधिकरणको मधेश प्रदेश कार्यालयको सहजीकरण तथा कृषि विभाग, खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना, क्लस्टर इकाई, सप्तरीको आयोजनामा फागुन २ गतेदेखि ५ गतेसम्म सिरहाको लहानमा उक्त तालिम दिइएको हो ।

तालिमको शुरूमा नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयका प्रमुख कुसुम शर्माले बीमा सम्बन्धी कानूनी व्यवस्था, कृषि, पशुपन्छी तथा जडिबूटी बीमा निर्देशिका, २०७९ मा भएका प्रमुख व्यवस्था, कृषिबीमालाई प्राथमिकता दिन दिइएका निर्देशन लगायतका बारेमा जानकारी दिएका थिए । कृषि विभागका वरिष्ठ कृषि प्रसार अधिकृत शिवसुन्दर घिमिरेले कृषि, पशुपन्छी तथा जडिबूटी बीमाको महत्व र सरकारबाट कृषिबीमामा उपब्ध हुँदै आएको अनुदानका बारेमा चर्चा गरेका थिए ।

विभागका कृषि अर्थविज्ञ लोकराज सुवेदीले कृषि, पशुपन्छी तथा जडिबूटी बीमा गर्ने विधि र दाबी भुक्तानी प्रक्रियाका बारेमा जानकारी दिएका थिए । तालिममा सहभागीहरूलाई उत्पादनमा आधारित कृषिबाली, तरकारीबाली, माछा, च्याऊखेती, ब्रोइलर कुखुरा, पशुधन, मौरी, अमिलो जातका फलफूल लगायतका बीमा लेखहरूका बारेमा सैद्धान्तिक एवम् व्यवहारिक ज्ञान दिइएको थियो ।

तालिम समापन कार्यक्रममा सहभागीहरूलाई नेपाल बीमा प्राधिकरणका तर्फबाट कृषि, पशुपन्छी तथा जडिबूटी बीमा अधिकर्ताको व्यवस्था, बीमा अभिकर्ता दर्ता तथा नवीकरण प्रक्रिया र बीमा अभिकर्ताका लागि आचारसंहिताका बारेमा जानकारी दिनुका साथै प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना, क्लस्टर इकाई, राजविराज, सप्तरीका कार्यालय प्रमुख राम सोगारथ साह, लहान प्राविधिक शिक्षालयका प्रमुख राजेन्द्र चौधरी, बीमा कम्पनीका शाखा कार्यालयका प्रमुखहरू र ३१ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो ।

शुक्रबार, ०५ फागुन २०७९, १७ : ३९

प्रतिक्रिया