विपन्न वर्ग पहिचान गरी बीमामा आर्थिक सहायता गर्न अध्यक्ष सिलवालको आग्रह

मंगलबार, ०९ फागुन २०७९, १५ : १४

काठमाडौँ - आर्थिक रुपले विपन्न समुदायलाई बिमाका लागि प्रोत्साहन गर्न स्थानीय सरकारले आर्थिक सहायता गर्नुपर्ने बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताएका छन् । नेपाल बिमा प्राधिकरण, गण्डकी प्रदेश कार्यालयको आयोजनामा कास्की जिल्लाको पोखरा महानगरपालिकामा सोमबार सम्पन्न अन्तर्क्रिया कार्यक्रममा अध्यक्ष सिलवालले यस्तो आग्रह गरेका हुन् ।

कार्यक्रममा अध्यक्ष सिलवालले पोखरा महानगरभित्रका घर लगायत सम्पत्तिको बिमा गराउनका लागि पहल गर्न महानगरपालिकासँग आग्रह गरेका छन् । ‘महानगरले आर्थिक रुपले सम्पन्न व्यक्तिलाई बिमा गर्न प्रोत्साहन गर्नुपर्ने र विपन्न वर्ग पहिचान गरी बिमा गर्नका लागि आर्थिक सहायताको व्यवस्था पनि गर्न सक्छ,’ उनले भने, ‘आर्थिक सहयोग पाएपछि विपन्न वर्गको जोखिम सुरक्षण हुन्छ भने आय आर्जन वृद्धिमा पनि योगदान पुग्छ ।’

दाबी भुक्तानीमा देखिएका समस्या समाधान गरी भुक्तानीलाई सरल बनाउन र बिमा सम्बन्धी नीति तथा कार्यक्रम तर्जूमामा आफूहरुलाई सहयोग गर्न पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेबी गुरुङले आग्रह गरिन् । दाबी भुक्तानी स्थानीयस्तरमा नै छिटोभन्दा छिटो गर्ने व्यवस्था गर्न प्राधिकरणले बिमा कम्पनीहरुलाई निर्देशन दिँदै आएको नेपाल कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले महागरभित्रका घर लगायतका सम्पत्तिको बीमा गराउनका लागि पालिकाले पहल गर्ने बताए ।

कार्यक्रममा सहभागीहरुले बिमा दाबी भुक्तानी प्रक्रिया जटिल रहेको, बिमा कम्पनीबाट दाबी भुक्तानी पहुँचवालाले सहजै पाउने तर सामान्य नागरिकले दाबी भुक्तानी पाउन कठिन हुने गरेको, सरकार र महानगरपालिकाको अनुदानमा गरिएको कृषि तथा पशुपन्छीको बिमा दाबी भुक्तानी नहुने गरेको, हुँदै नभएको बाली र पशुको समेत बिमा गर्ने गरेको, बिमा कम्पनीले कम दाबी भुक्तानी दिने गरेको लगायतका गुनासाहरु राखेका थिए ।

मंगलबार, ०९ फागुन २०७९, १५ : १४

प्रतिक्रिया