आजदेखि प्रभु स्मार्ट फन्डको बिक्री खुला

विहीबार, १८ फागुन २०७९, ०९ : ३५

काठमाडौँ - प्रभु क्यापिटलले आज फागुन १८ गते बिहीबारदेखि ‘प्रभु स्मार्ट फन्ड’ को बिक्री खुला गरेको छ । क्यापिटलले प्रभु म्युचुअल फन्ड अन्तर्गत प्रभु स्मार्ट फन्डको कुल ८ करोड इकाई निष्कासन गरेको हो । जसमध्ये १४% अर्थात १ करोड १२ लाख इकाई कोष प्रवर्द्धक प्रभु बैंकलाई र १% अर्थात ८ लाख इकाई योजना व्यवस्थापक प्रभु क्यापिटलाई सुरक्षित गरिएको छ । बाँकी रहेको ६ करोड ८० लाख इकाईका लागि सर्वसाधरणले आवेदन दिन सक्नेछन् ।

 

प्रभु क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ८० करोड रुपैयाँ बराबरको इकाई बिक्रीमा ल्याएको हो । यो १० वर्षे बन्दमुखी योजना हो । फन्डमा न्यूनतम १०० देखि अधिकतम ८० लाख इकाईसम्म आवेदन दिन सकिन्छ । यसमा फागुन २३ गतेसम्म आवेदन दिन सकिन्छ । उक्त समयमा सबै इकाई बिक्री नभएमा चैत ५ गतेसम्म आवेदन खुला रहने प्रभु क्यापिटलले जनाएको छ ।

 

फन्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट अनलाइन आवेदन दिन सक्नेछन् । प्रभु स्माट फन्ड प्रभु क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको दोस्रो म्युचुअल फन्ड योजना हो । हाल प्रभु सेलेक्ट फन्ड सञ्चालनमा रहेको छ । प्रभु क्यापिटल प्रभु बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।

 

प्रभु स्मार्ट फण्ड कस्तो योजना हो ?


प्रभु स्मार्ट फण्ड एउटा इक्विटी लक्षित बन्दमुखी सामुहिक लगानी योजना हो । प्रभु स्मार्ट फण्डको अवधि १० वर्षको रहेको छ । फण्डबाट संकलन भएको रकम इक्विटी र निश्चित प्रतिफल प्रदान गर्ने वित्तिय औजार अर्थात फिक्स्ड इनकम इन्स्ट्रुमेन्टमा सन्तुलन गरी लगानी गर्ने योजना रहेको छ । फण्डले लगानी गरेपछि १० वर्षको अवधिमाकरिब २५५% सम्म प्रतिफल दिने योजना रहेको फन्डले जनाएको छ ।



यसका लागि फन्डले बजारमा हुने उतारचढावलाई अवसरको रुपमा लिई सन्तुलन ढंगले लगानी गरी यस फण्डका युनिट होल्डरहरुलाई उच्चतम प्रतिफल दिने प्रयास गर्ने कम्पनीले जनाएको छ । फन्डले बजारमा रहेका उत्कृष्ट स्टकहरुलाई छनोट गरेर पोर्टफोलियो व्यवस्थित गर्ने दाबी गरेको छ । 

प्रभु स्मार्ट फण्डको प्रकृति अरु फन्डभन्दा भिन्न रहेको कम्पनीको भनाई छ । उद्देश्य र यसले कार्य गर्ने संरचना पनि अन्य फण्डहरुको भन्दा भिन्न रहेको फन्डको दाबी छ । फलस्वरुपः लगानीकर्ताहरुले आफ्नो लगानी वृद्धि तथा उत्कृष्ट प्रतिफल प्राप्तिका लागि यो रणनीतियुक्त म्युचुअल फण्डमा लगानी गर्न फन्डले आग्रह गरेको छ । 

 

विहीबार, १८ फागुन २०७९, ०९ : ३५

प्रतिक्रिया