प्रख्यात अमेरिकी बैंक टाट पल्टियो / नेपालका बैंकको अवस्था के छ ?

शनिबार, २७ फागुन २०७९, १२ : ३९

काठमाडौँ - टेक्नोलोजी र स्टार्टअपको संसारमा सबैभन्दा प्रख्यात ऋणदाताहरू मध्येको सिलिकन भ्याली बैंक ४८ घण्टाको अन्तरालमै टाट पल्टिएको छ। बैंकको असफलता अमेरिकी आर्थिक इतिहासमा दोस्रो ठूलो घटना हो। जुन २००८ को वित्तीय संकटपछिको सबैभन्दा ठूलो धक्का साबित भएको छ।

टाट पल्टिएसँगै डिपोजिट इन्स्योरेन्स कर्पोरेसनले शुक्रबार सान्ता क्लारा, क्यालिफोर्नियामा रहेको ४० वर्ष पुरानो बैंकलाई नियन्त्रणमा लिने बताएको छ। कर्पोरेसनले बैंकलाई ताला लगाउँदै सम्पूर्ण निक्षेपमा कब्जा गरेको छ।

नियामकको नियन्त्रणमा अहिले ग्राहकहरुको झन्डै १७५ अर्ब डलर निक्षेप छ। यद्यपि कर्पोरेसनले प्रति ग्राहक २ लाख ५० हजार डलरसम्मको मात्र कभरेज दिने जनाएको छ।

बुधबारसम्म सिलिकन भ्याली बैंक राम्रो पुँजीकृत संस्था थियो। २०२२ को अन्ततिर बैंकसँग कुल २०९ अर्ब डलर हाराहारी सम्पत्ति थियो। तर, पछिल्लो ४८ घण्टामा लिएको दुर्भाग्यपूर्ण निर्णयहरुको परिणाम बैंकको ४० वर्षे दौड समाप्त भएको छ। 

गत बुधबार साँझ एक्कासि बैंकले आफ्नो वासलातलाई सुधार्न सवा २ अर्ब डलर उठाउनु पर्ने समाचारले लगानीकर्ताहरू आश्चर्यमा परेका थिए। यसका लागि बैंकले आफ्नो स्वामित्वमा रहेका सेयरहरु घाटा खपेरै बेचिसकेको थियो। सँगै थप २।२५ अर्ब डलर सेयर बेच्नुपर्ने घोषणा पनि सार्वजनिक गर्‍यो। यस अघि बैंकले घाटा बेहोरेरै १.८ अर्ब डलर बराबरको बन्डहरू बेचेको बताएको छ।

जसले बैंकमा लगानी रहेका प्रमुख भेन्चर क्यापिटल फर्महरू बीच आतंक पैदा गर्‍यो। फर्महरुले उन्य लगानीकर्ताहरुलाई पनि बैंकबाट आफ्नो पैसा फिर्ता लैजान सल्लाह दिए। परिणाम स्वरुप बिहीबार कम्पनीको स्टक क्रयास भयो। सँगै अन्य बैंकका सेयर पनि खस्किए।

युनियन स्क्वायर भेन्चर्स र कोट म्यानेजमेन्ट लगायतका प्रख्यात लगानी फर्महरुले स्टार्टअपहरूलाई इमेल गर्दै बैंक चिन्ताजनक स्थितिमा पुगेकाले रकम निकालिहाल्न निर्देशन दिएका थिए। जुन पछि सामाजिक सञ्जालमा फैलिएपछि झनै भयावह स्थितिमा परिणत हुन पुग्यो।

बिहीबार साँझ बैंकले निक्षेपकर्ताहरुलाई बैंक स्वस्थ रहेको र नियमित झैं सञ्चालन भइरहेको आश्वासनसहितको इमेल गरेको थियो। तर, निकै ढिला भइसकेको थियो।

क्यालिफोर्निया तथ्यांक विभागका अनुसार, निक्षेपकर्ताहरूले बिहीबार कार्यालय समयसम्म ४२ अर्ब डिपोजिट झिकिसकेका थिए। कारोबारको अन्त्यमा, बैंकको वासलात ९५ करोड ८० लाख डलर ऋणात्मक भइसकेको थियो। 

शुक्रबार बिहान सिलिकन भ्याली बैंकको सेयर कारोबार नै रोकिन पुग्यो। जस लगत्तै बैंकले तुरुन्तै पुँजी नबढाउने र खरिदकर्ता खोज्ने प्रयास त्याग्न बाध्य भयो। तर सेयर कारोबारका दौरान शुक्रबार दिउँसो नै डिपोजिट इन्स्योरेन्स कर्पोरेसनले बैंकलाई नियन्त्रणमा लियो।  

शनिबार, २७ फागुन २०७९, १२ : ३९

प्रतिक्रिया