कुमारी क्यापिटलले थप एक योजना विस्तार गर्दै

मंगलबार, ३० फागुन २०७९, ११ : ४१

काठमाडौं-  कुमारी क्यापिटलले चैत ९ गतेदेखि कुमारी सुनौलो लगानी योजना निष्काशन तथा बिक्री खुला गर्ने भएको छ ।

 क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १० करोड इकाई निष्काशन गर्न लागेको हो ।

सोमध्ये हाल ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाई सार्वजनिक निष्काशनमार्फत बिक्री गरिनेछ भने बाँकी रहेको ५ करोड इकाई सामूहिक लगानी कोष नियमावलीको व्यवस्था बमोजिम योजनाको इकाई योजना व्यवस्थापकले तोकेको वितरक मार्फत निरन्तर खरिद बिक्रीका लागि खुल्ला गरिने क्यापिटलले जनाएको छ ।

१० करोड इकाईमध्ये १५ प्रतिशत अर्थात १ करोड ५० लाख इकाई कोष प्रबद्र्धक कुमारी बैंक लिमिटेडका लागि छुट्याइएको छ। सर्वसाधारण लगानीकर्ताले बाँकी ३ करोड ५० लाख इकाईका लागि आवेदन दिन सक्नेछन् । निष्काशन बन्द छिटोमा चैत १३ गते हुनेछ भने सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि चैत २३ गतेसम्म लम्बिनेछ । लगानीकर्ताले न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५० लाख इकाईका लागि आवेदन दिन सक्नेछन् ।

कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने यस योजना एक खुलामुखि योजना हो। योजनाको कुल आकार १ अर्ब रुपैयाँ रहेको छ भने प्रारम्भिक आकार ५० करोड रुपैयाँ रहेको छ। यस निष्काशनमा न्यूनतम ५० प्रतिशत अर्थात २ करोड ५० लाख इकाई बिक्री हुनु पर्नेछ। सोभन्दा कम इकाईका लागि आवेदन परेमा योजना खारेज गरी १५ दिनेभित्र आवेदकहरुको रकम फिर्ता भुक्तानी प्रक्रिया शुरु गरिने क्यापिटलले जनाएको छ। निष्काशन अवधिभरीमा ५० करोड रुपैयाँ बराबरको आवेदन नपरेमा बाँडफाँट भएपश्चात बाँकी रहेको इकाईलाई पनि एसआईपी मार्फत बिक्री गरिने क्यापिटलले जनाएको छ ।

यो योजना खुलामुखी योजना भएको हुनाले निरन्तर चलिरहन्छ। पहिलो चरणको निष्काशन तथा बाँडफाँट सम्पन्न भएको मितिले तीन महिनाभित्र यो योजनाको इकाई निरन्तर निष्काशन तथा बिक्रीको लागि खुला हुनेछ। योजना व्यवस्थापक आफै वा सामूहिक लगानी कोष निर्देशिका, २०६९ को दफा १६ बमििोजम वितरकका रुपमा तोकिएको कुनै बैंक तथा वित्तीय संस्थाहरु वा मर्चेन्ट बैंकरहरुबाट दैनिक रुपमा खरिद बिक्री गर्न सकिनेछ।

योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।

म्युचुअल फण्ड निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले योजना व्यवस्थापकलाई इक्राएनपी एएमसी क्वालिटी ३ ९एएमसी३० रेटिङ्ग प्रदान गरेको छ। यसले क्यापिटलको व्यवस्थापन गुणता पर्याप्त मात्रमा आश्वस्थ हुन सकिने संकेत गर्दछ। त्यसैगरी, कोष प्रबद्र्धकलाई इक्रा नेपालले इक्रा एनपि इस्यूअर रेटिङ त्रिपल बी रेटिङ्ग प्रदान गरेको छ। यसले इस्यूअरमा मध्यम कर्जा जोखिम रहेको र वित्तीय दायित्व बहन गर्ने मामलामा पर्याप्त सुरक्षित रहेको संकेत गर्दछ।

मंगलबार, ३० फागुन २०७९, ११ : ४१

प्रतिक्रिया