अमेरिकी बैंक डुब्दा विश्व अर्थतन्त्रमा धक्का

मंगलबार, ३० फागुन २०७९, १२ : ५०

काठमाण्डौ – अमेरिकाको सिलिकन भ्याली बैंक र सिग्नेचर बैंक डुब्दा सम्पूर्ण विश्व वित्तीय बजारमा ठूलो असर परेको छ। जसका कारण विश्वका सबै सेयर बजारमा लगानीकर्ताले ४ खर्ब ६५ अर्ब डलर गुमाएका छन्।

अमेरिकामा यी बैंकहरु डुबिएपछि पश्चिमा देशका बैंकहरुसँगै एसियाली बैंकहरुमा पनि यसको प्रभाव पर्न सक्ने विश्वास गरिएको छ। जसका कारण अमेरिकासँगै विश्वका बैंकिङ सेयर पनि कमजोर बन्दै गएको छ। यस बैंकिङ संकटको सामना गर्न अमेरिकी सरकारले निरन्तर कदम चालिरहेको छ।

मंगलबारको प्रारम्भिक कारोबारमा एमएससीआई एसिया प्यासिफिक वित्तीय सूचकांक २।७ प्रतिशतले घट्यो। यो नोभेम्बर २९ यताकै सबैभन्दा कमजोर स्तर हो।

जापानको मित्सुबिसी यूएफजे फाइनान्सियल ग्रुप इंकको सेयर ८.३ प्रतिशत, दक्षिण कोरियाको हाना फाइनान्सियल ग्रुप इंक ४.७ प्रतिशत र अस्ट्रेलियाको एएनजेड ग्रुप होल्डिङ लिमिटेड २.८ प्रतिशतले घटेको छ। यद्यपि, अमेरिकी बैंकिङ स्टकहरु थप गिरावट आइरहेका छन्। फर्स्ट रिपब्लिक बैंकको सेयरभाउ एकैदिन ६० प्रतिशतले घटेको छ।

सिलिकन भ्याली बैंकका नयाँ सीईओ टिम मेयोपोलोसले सोमबार ग्राहकलाई पठाएको पत्रमा बैंक सामान्य रुपमा खुला रहेको र व्यापार सञ्चालन गरिरहेको उल्लेख गरेका छन्। सबै विद्यमान र नयाँ निक्षेप वित्तीय नियामक यूएस फेडरल डिपोजिट इन्स्योरेन्स कर्प (एफडीआईसी)द्वारा सुरक्षित छन्।

अमेरिकामा बैंकहरु डुब्दा विश्वव्यापी मन्दीको जोखिम बढेको छ। यसैका कारण कच्चा तेलको मूल्यमा दबाब देखिएको छ। ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ८०.६८ डलर र डब्ल्यूटीआई क्रुडको मूल्य प्रतिब्यारेल ७४.६४ डलरमा झरेको छ। –एजेन्सी

मंगलबार, ३० फागुन २०७९, १२ : ५०

प्रतिक्रिया