१२ करोड बढी अपचलन गरेर सञ्चालक बेपत्ता, सबै सहकारी एउटै घानमा

बुधबार, ०१ चैत्र २०७९, १५ : ४१

काठमाडौं – देशभर सहकारीहरु अहिले संकटको घेरामा परेका छन् ।  विराटनगरमा सञ्चालित तुलसी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा रकम जम्मा गरेका बचतकर्ता हरु ठगिन पुगेका छन् । मोरङ्ग प्हरीले बचतकर्तालाई उजुरी दिन आह्वान गरेको छ ।

मुलुकभर कार्यक्षेत्र रहेको उक्त संस्था २०५२ चैत १३ गते सहकारी विभागमा दर्ता भएको हो । संस्थाले हजारौं बचतकर्तालाई ठगेको खबर बाहिरिएपछि प्रहरीले पीडितहरुलाई उजुरी दिन सूचित गरेको छ ।

विराटनगर महानगरपालिका २ मा केन्द्रीय कार्यालय रहेको संस्थाको मुलुकभर २१ हजार ७१३ सदस्य छन् । तीमध्ये विराटनगरमा मात्रै चार हजार बढी छन् ।

गत फागुन १ गतेदेखि उक्त संस्था पूर्व सूचना र जानकारी नदिई बन्द गरिएको छ । सञ्चालक समितिका सबै पदाधिकारी सम्पर्कविहीन बनेपछि केही बचतकर्ताले प्रहरीमा जाहेरी दिएका थिए । १२१ पीडितले दिएको जाहेरीका आधारमा प्रहरीले तीन जना सञ्चालक र पदाधिकारीलाइ पक्रेको छ ।

संस्थाका उपाध्यक्ष अनिता गौतम, सचिव सविना न्यौपाने र क्षेत्रीय प्रबन्धक मन्दीप खवासलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ । बाँकी अरुको पनि धमाधम खोजी भइरहेको प्रहरीले बताएको छ । उनीहरुले पीडितबाट १२ करोड ९ लाख चार हजार ४८७ रुपैयाँ ठगी गरेको अनुसन्धानको क्रममा खुलेको छ ।

संस्थाले बाल बचत, ज्येष्ठ नागरिक बचत, भविष्य सुनिश्चित बचत, सुपर पेन्सन बचत, अवधि बचत, कर्मचारी चल्ती बचत, विशेष बचत, साधारण बचतलगायत विभिन्न खातामा रकम जम्मा गर्दा १५ प्रतिशतभन्दा बढी ब्याज र बानेस दिने प्रलोभन देखाएको पाइएको छ । प्रहरीकाअनुसार आकर्षक सुविधाको प्रलोभनमा परेर बचतकर्ताले ठूलो रकम बचत गरेको देखिन्छ । अहिले त्यो रकम डुबेको अवस्थामा पुगेको छ ।

 

बुधबार, ०१ चैत्र २०७९, १५ : ४१

प्रतिक्रिया