काठमाडौँ- नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १४ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।
शनिबार बसेको संस्थाको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही चैत २८ गते आयोजना गर्ने निर्णय गरेको हो।
उक्त सभा काभ्रेको धुलिखेलस्थित होटेल जुगलमा दिउँसो १ बजेबाट सुरु हुनेछ।
सभाले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई चुक्तापुँजीको कुल २० प्रतिशतले हुन आउने ६ करोड ६ लाख ७९ हजार ५२ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ।
जसमा १९ प्रतिशतले हुन आउने ५ करोड ७६ लाख ४५ हजार ९९ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ १ प्रतिशतले हुन आउने ३० लाख ३३ हजार ९५३ रुपैयाँ नगद लाभांश छन्।
सभाले सर्वसाधारणका लागि छुट्याइएको एफपीओ जारी गर्न तथा सो सम्बन्धमा सम्पूर्ण कार्यहरु गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। एफपीओ र बोनस सेयर वितरणपछि संस्थाको जारी र चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम नियमावली र प्रबन्धपत्र संशोधन गर्ने विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ।
लाभांश र सभा प्रयोजनका लागि संस्थाले चैत १५ गतेदेखि चैत २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ चैत १४ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो संस्थाको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
प्रतिक्रिया