राष्ट्र बैंकले बोलायो आकस्मिक बैठक

१ बर्ष अगाडि

काठमाडौँ - वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई आज नेपाल राष्ट्र बैंकले आकस्मिक छलफलका लागि डाकेको छ। आज दिँउसो छलफलको लागि बोलाईएको एक बैंकका सिईओले बीमापोष्टलाई बताए । केन्द्रीय बैंकले सीईओहरूलाई आज दिउँसो याक एण्ड यती होटलमा बैठकको लागि बोलाएको हो ।

बैठकका लागि २२ वटै वाणिज्य बैंकका सीईओहरुलाई बोलाइएको छ।नेपाल राष्ट्र बैंकले समसामयिक अर्थतन्त्र र बैंकिङ प्रणालीमा देखिएका समस्या र चुनौतीबारे छलफल गर्न बैंकर्सहरूलाई बोलाएको छ।

राष्ट्र बैंकका एक अधिकारीका अनुसार हालको समय सामयिक बिषय र अन्तराष्ट्रिय मुद्रा कोषको प्रस्तावहरुबीचमा कुरा हुने बुझिएको छ। त्यस्तै, बैठकमा हाल उद्योग व्यवसायिहरुले उठाएको चर्को कर्जाको विरुद्ध विरोधको बिषयमा पनि कसरी जाने भन्ने बिषयमा छलफल हुने तयारी भईरहेको स्रोतले जनाएको छ।

बैंक तथा वित्तीय संस्थाको कर्जा असुलीमा देखिएको समस्याबारे बैंकर्सहरू कुरा उठाउने तयारी गरेका छन्।बैंकहरुको खराब कर्जा बढ्दै गएपछि राष्ट्र बैंकका अधिकारी चिन्तित देखिएका छन्। अर्थतन्त्रमा आएको मन्दीका कारण उद्योगीरव्यवसायीले कर्जाको सावाब्याज भुक्तानी गर्न नसक्दा वाणिज्य बैंकहरुको खराब कर्जा बढिरहेको छ। चालु आर्थिक वर्षको ७ महिनामा वाणिज्य बैंकहरुको खराब कर्जा बढेर २.४९ प्रतिशत पुगेको छ। गत वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुको खराब कर्जा १.१८ प्रतिशत रहेको थियो।

विकास बैंकहरुको खराब कर्जा भने गतवर्षको तुलनामा घटेको छ। गत वर्षको यसै अवधिमा २.८२ प्रतिशत रहेको विकास बैंकहरुको खराब कर्जा घटेर १.१८ प्रतिशत कायम भएको छ। वित्त कम्पनीहरुले पनि यस अवधिमा खराब कर्जा ७.८२ प्रतिशत घटाएर ७.०५ प्रतिशत कायम गराउन सफल भएका छन्।

यसैगरी आगामी मौद्रिक नीतिको समीक्षामार्फत कर्जामा गरिएको जोखिमभार पुनरवलोकनलाई पहिलेकै अवस्थामा नल्याएपनि केही मात्रामा घटाउने विषयमा पनि छलफल हुने बताइएको छ। सेयर बजार, घरजग्गा कारोबारमा आएको सुस्ताले बैंकिङ प्रणालीमा पैसा नआएको र यस क्षेत्रबाट पनि खराब कर्जा बढ्ने अवस्था रहेकाले आगामी मौद्रिक नीति मार्फत सहजीकरण गर्नेगरी जोखिमभार घटाउने विषयमा छलफल हुने अनुमान बैंकर्सहरुले गरेका छन्।

१ बर्ष अगाडि

प्रतिक्रिया