संस्कृतिका विद्यार्थीले जिते ‘नो एम्बिशन इज टु मच ’ प्रतियोगिता

१ बर्ष अगाडि

काठमाडौँ - बेलायतको इन्टरनेसनल करिकुलम एसोसिएसन (आइसिए) ले बक्समोर एजुकेशन, बेलायतसँगको सहकार्यमा भर्खरै ‘नो एम्बिशन इज टु मच ’ प्रतियोगिता मार्फत युवा विद्यार्थीहरूका लागि रोमाञ्चक र अनुपम अवसर प्रदान गरेको थियो । बेलायतका यी दुई संस्थाले प्रायोजन गरेको यस प्रतियोगितामा विद्यार्थीहरुले दिगो विकासका १७ ओटा लक्ष्यमध्ये कुनै एक लक्ष्य प्रवद्र्धन गर्न आफ्ना सिर्जनात्मक र रचनात्मक विचारहरू प्रस्तुत गर्न मञ्च प्रदान गरेको थियो ।

संस्कृित इन्टरनेसनल स्कुलका कक्षा १० का दुई जना प्रतियोगी नितिशा गुरुङ र रेयान राजन पुन यस प्रतियोगितामा आफ्नो उत्कृष्ट प्रस्तुतिका साथ सहभागी भएका थिए । विश्वभरिका कयौँ प्रतियोगी माझ आफ्ना अब्बल परियोजना प्रस्तुत गरेका प्रतियोगी मध्ये रेयान राजन पुन उपविजेता भएका थिए भने दिगो विकास लक्ष्य ४ मा रहेको गुणस्तरीय शिक्षा सम्बन्धि प्रस्तुतिले नितिशा गुरुङले प्रथम स्थान हासिल गरेकी थिइन् ।

नितिशाले प्रथम पुरस्कारको रूपमा टोनब्रिज स्कूल, इङ्गल्याण्डमा आयोजित बक्समोर यङ्ग लिडर्स समर कोर्समा निःशुल्क सहभागी हुन पाउने भएकी छिन् ।  त्यहाँ लाग्ने सबै खर्चको भुक्तानी सम्पूर्ण प्रतियोगिता आयोजकले बेहोर्ने छ जसमा यात्रा खर्च, यातायात, आवास र ट्युसन शुल्क पनि समावेश छ। यस्तै, उपविजेता रेयानलाई बक्समोर एजुकेशनले उपलब्ध गराउने कुनै पनि छोटा शैक्षिक तालिम वा कार्यक्रममा १० प्रतिशत विशेष छुट प्रदान गरिएको छ ।

यो नितिशा र रेयानदुवैका लागि आत्मविश्वास र नेतृत्व कौशल विकास गर्ने, आफ्नो ज्ञान र अनुभव विस्तार गर्ने र विश्वभरका नयाँ साथीहरू बनाउनको लागि एउटा सुन्दर एवम् स्वर्णिम अवसर हो । तिनीहरूले लिने तालिम र पढ्ने पाठ्यक्रमहरूले पक्कै पनि गहिरो स्तरमा उनीहरूको रुचिलाई अन्वेषण गर्न मद्दत गर्नेछ ।

नितिशा र रेयानले उज्ज्वल भविष्यतर्फ आफ्नो बाटो बनाउन सुरु गरिसकेका छन्, र यो अनुभव दुई प्रतिभाशाली विद्यार्थीहरुको लागि प्रेरणादायी हुनेछ ।  
 

१ बर्ष अगाडि

प्रतिक्रिया