सोनापुर सिमेन्टको विद्युत बक्यौता ७५ करोड, काटियो लाइन

१ बर्ष अगाडि

 
काठमाडौं–  मुलुक आर्थिक मन्दीको मारमा गएको बेला पनि करोडौं बक्यौता राख्ने कम्पनी, व्यवसायिक फर्म र व्यक्तिको लाइन काट्दै नेपाल विद्युत् प्राधिकरण बाँकेले कारबाही गरेको छ। कार्बाही गरेलगत्तै १६ करोड रुपैयाँ असुली भएको छ। बक्यौता नतिर्ने ठूला ग्राहकहरुमा सिमेन्ट कारखानाहरु रहेका छन् ।

 दाङको बिजौरीस्थित सोना सिमेन्टको उत्पादक सोनापुर सिमेन्ट प्रालिको लाइन प्राधिकरणले काटिदिएको छ। करिब ७५ करोड बक्यौता नतिरेपछि उक्त उद्योगको लाइन काटिएको प्राधिकरण नेपालगञ्ज शाखाका प्रमुख हरि पाण्डेले बताए।

उनका अनुसार अहिलेसम्म उक्त कम्पनीले प्राधिकरणलाई ७४ करोड ५९ लाख रुपैयाँ तिर्न बाँकी छ। ‘डेडिकेटेड लाइन हुँदाको ३२ करोड ९४ लाख र पछिको ४१ करोड ६६ लाख रुपैयाँ सोनापुर सिमेन्टले बुझाएको छैन,’ उनले भने, ‘पटक पटक भनिआएका हौं, नबुझाएपछि सूचना दिएरै लाइन काटेको हो।’

सोना सिमेन्टको मात्रै नभइ साना(ठुला उद्योग तथा व्यक्तिगत गरी १० हजार ग्राहकको लाइन काटिएको उनले बताए। लाइन काटिएपछि बक्यौताको १६ करोड रुपैयाँ उठेको जानकारी उनले दिए।


धेरै बिजुली खपत गर्ने सिमेन्ट उद्योग प्राधिकरणका ठुला ग्राहक हुन्। प्रमुख पाण्डेका अनुसार अन्य उद्योगका महसुल बक्यौता छन्। रोल्पा सिमेन्टको ८ करोड बाँकी छ। ‘सम्राट र घोराही सिमेन्टको पनि बक्यौता छ। उनीहरुले भोलिसम्म समय मागेकाले अहिले लाइन काटिहालेका छैनौं,’ उनले भने।

उनका अनुसार प्राधिकरण नेपालगञ्ज शाखा अन्तर्गत मात्र लगभग २ अर्ब जति बक्यौता संकलन हुन बाँकी छ। बाँके कार्यालयलाई प्राधिकरणको उच्च तहबाटै बक्यौता असुलीमा दबाब आएपछि लाइन काट्न सुरु गरेको हो। 
 यसबाट सरकारले आर्थिक सुधारको अभियान प्राधिकरणबाट सुरु गर्दैछ भन्ने सजिलै अनुमान गर्न सकिन्छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया