तामाकोशी पाँचौँ जलविद्युत आयोजनाको लगानी जुट्यो

१० महिना अगाडि

काठमाडौँ- दोलखाको बिगु गाउँपालिकामा निर्माण हुने ९९.८ मेगावाटको तामाकोशी पाँचौँ जलविद्युत आयोजनाको लगानी जुटेको छ। 

निर्माण अवधिको ब्याजसहित २१ अर्ब १४ करोड रुपैयाँ अनुमानित लागत रहेको आयोजनामा कर्मचारी सञ्चय कोषले १३ अर्ब ७४ करोड ऋण लगानी गर्ने भएको हो। जनताको जलविद्युत कार्यक्रममा समावेश आयोजनाको बाँकी रकम सर्बसाधारणलाईसमेत सेयर निष्कासन गरी स्वपुँजी ९इक्विटी०बाट जुटाइनेछ। आयोजनामा ६५ प्रतिशत ऋणबाट र ३५ प्रतिशत इक्विटीबाट जुटाएर वित्तीय व्यवस्थापन गरिएको हो।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा आइतबार नेपाल विद्युत् प्राधिकरण, आयोजनाको प्रवर्द्धक तामाकोशी जलविद्युत कम्पनी र कर्मचारी सञ्चय कोषबीच त्रिपक्षीय ऋण सम्झौतामा हस्ताक्षर भएको छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, कोषका प्रशासक जितेन्द्र धिताल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० विनोद भण्डारीले सम्झौतामा हस्ताक्षर गरेका छन्। 

कार्यक्रममा मन्त्री बस्नेतलेसबैका लागि, समृद्धिका लागि र स्वच्छ वातावरणका लागि हरित ऊर्जा नेपालको सम्भावना र आवश्यकता रहेको उल्लेख गरे। उनले यसका लागि जलविद्युतको उत्पादन बढाउने, प्रसारण तथा प्रणालीका पूर्वाधार विस्तारमा काम भइरहेको बताए। 

बस्नेतले खपत बढाउन र देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् निर्यातका लागि बजार सुनिश्चितका लागि प्रयासहरु भइरहेको बताए। उनले आयोजना तोकिएकै समय र लागतमा सम्पन्न गरी विकास निर्माणमा ढिला हुँदा उठ्ने प्रश्नको जवाफ दिनुपर्ने धारणा राखे। 

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले नेपालमा उत्पादन भएको विद्युत् यहीँ खपत गरी बढी भएको निर्यात गर्न बजार सुनिश्चित हुँदै गएको बताए। भारत र बङ्गलादेश नेपालमा उत्पादित विद्युत् किन्नका लागि आतुर रहेको उल्लेख गर्दै घिसिङले ती देशमा विद्युत् बिक्री गर्दा  वर्षमायाको विद्युत्को राम्रो दर पाउने अवस्था बन्दै गएको बताए। 

प्रशासक धितालले जलविद्युत् क्षेत्रमा करिब आठ सय मेगावाटका आयोजनाहरूमा ४० अर्ब रुपैयाँभन्दा बढी  कोषले लगानी गरेको जानकारी दिए। उनले निर्धारित समय र लागतमा निर्माण सम्पन्न गरी आयोजनालाई नमुना बनाइनुपर्नेमा जोड दिए। 

कम्पनीका सीईओ भण्डारीले आयोजनाको निर्माण ४ वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको बताए। 

तामाकोशी पाँचौँ ४५६ मेगावाटको मेगावाटको माथिल्लो तामाकोशीको जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादनपछि निस्किएको पानीलाई उपयोग गरी निर्माण हुन लागेको क्यास्केड आयोजना हो। त्यसैले तामाकोशी पाँचौँले बाँध, बालुवा थिग्र्याउने पोखरी ९डिसेन्डर० लगायतका संरचना बनाउनु नपर्ने भएकोले आयोजनालाई आकर्षक मानिएको छ।

माथिल्लो तामाकोशीको विद्युत् गृहबाट निक्लिएको पानीलाई आयोजनाको सुरुङमा पठाउन आवश्यक पर्ने सिभिल संरचनाको निर्माण भइसकेको छ। हाइड्रो मेकानिकल काम बाँकी रहेको छ। आयोजनाले ८ किलोमिटर सुरुङ, विद्युतगृह, करिब २ किलोमिटर २२० केभी प्रसारण लाइनलगायतका मुख्य संरचना निर्माण गर्नुपर्नेछ।

आयोजना निर्माणका लागि निर्माण व्यवसायी छनौटका लागि टेन्डर प्रक्रियामा रहेको छ। विस्तृत डिजाइन र वातावरणीय प्रभाव मूल्यांकन ९ईआइए० स्वीकृत भइसकेका छन्। आयोजना निर्माणमा आवश्यक पर्ने करिब १३३ रोपनी निजी जग्गा अधिग्रहण गरिसकिएको छ।

आयोजनाबाट वार्षिक रुपमा ४९ करोड ५१ लाख युनिट विद्युत् उत्पादन हुनेछ। माथिल्लो तामाकोशीमा रोल्वालिङ खोला मिसाएपछि आयोजनाबाट उत्पादन हुने विद्युत् वृद्धि भई ५४ करोड ३५ लाख युनिट पुग्नेछ। आयोजनाबाट उत्पादित विद्युत् खरिद बिक्रीका लागि प्राधिकरण र कम्पनीबीच सम्झौता भइसकेको छ।  

१० महिना अगाडि

प्रतिक्रिया