झुट्टा समाचारप्रति गृह मन्त्रालयको ध्यानाकर्षण

सोमबार, ११ असार २०८०, १८ : ४०

काठमाडौँ - आर्थिक राष्ट्रिय दैनिकको मिति २०६० असार ११ गते प्रथम पृष्ठमा प्रकाशित नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन शीर्षक समाचारप्रति गृह मन्त्रालयको ध्यानाकर्षण भएको छ ।

 उपप्रधानमन्त्री र गृहमन्त्रीले कार्यभार सम्हालेसँगै भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउँदै सबै मुद्दामा स्वच्छ, निष्पक्ष र दबावरहित ढङ्गले अनुसन्धान तथा कारवाही अगाडि बढाउन नेपाल प्रहरीलगायतका सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ । सोही क्रममा नेपाल प्रहरीबाट नकली भूटानी शरणार्थी प्रकरणको अनुसन्धान अगाडि बढी सम्मानित अदालतमा अभियोजन माग दावी लिई मुद्दाको पुर्पक्ष भइरहेको छ । 

अनुसन्धान अभियोजन र अदालती प्रक्रियामा रहेको अवस्थामा मुद्दाबारेमा खुल्ने थप तथ्यका आधारमा थप अनुसन्धान हुने विषय यसमा जिम्मेवार प्रहरी निकायले स्वतन्त्रतापूर्वक सम्पादन गर्ने जिम्मेवारीको विषय हो । भ्रष्टाचार र अपराध नियन्त्रणलगायतका अनुसन्धान प्रक्रियालाई दबावरहित बनाई प्रहरी निकायलाई स्वतन्त्रतापूर्वक अनुसन्धान गर्न मन्त्रालयको नेतृत्व तहबाट निरन्तर सहजीकरण र निर्देशन हुने गरेको छ । 

तथापि त्यस्तो निर्देशन दिने क्रममा उपप्रधानमन्त्री एवम् गृहमन्त्रीज्यूबाट कुनै व्यक्तिलक्षित गरी केही गर्न वा नगर्न कुनै प्रकारको निर्देशन दिएको कुरा भ्रामक, कपोलकल्पित र झुटा भएको व्यहोरा उनले अवगत गराएका छन् । सत्यमा आधारित नभईकन प्रकाशित यस्ता खालका समाचारले मन्त्रालयले हाल सञ्चालन गरिरहेको अपराध र भ्रष्टाचार नियन्त्रणको अभियानलाई दिगभ्रमित पार्न उद्यत समूहलाई मात्र फाइदा पुग्ने विषय तर्फ जिम्मेवार प्रकाशन संस्था सतर्क रहनु वान्छनीय छ । न्याय निरुपणको क्रममा रहेको विषयका बारेमा कुनै पनि समाचार प्रकाशन गर्दा सम्बन्धित पक्ष वा पदाधिकारीबाट पुष्ट्याई हुने प्रबन्ध मिलाउने तर्फ संवेदनशील हुन उनले आग्रह गरेका छन्। यसर्थ मन्त्रालयले उक्त झूठो, निराधार र भ्रमपूर्ण समाचारको खण्डन गरेको छ । मन्त्रालयको कुशासन र भ्रष्टाचारविरोधी अभियानमा साथ दिन र घटनाको निष्पक्ष छानविन गरी उचित निष्कर्षमा पुयाउन सहयोग पुयाउन समेत मन्त्रालयले अनुरोध गरेको छ ।

सोमबार, ११ असार २०८०, १८ : ४०

प्रतिक्रिया