काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले ऊर्जा क्षेत्रमा देखिएका समस्या सामूहिकरुपमा समाधान गर्ने बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललगायतका पदाधिकारीसँग शुक्रबार ऊर्जा मन्त्रालयमा भएको छलफलमा उनले सरकार र निजी क्षेत्रको सामूहिक प्रयासबाट मात्रै सबै समस्याको निरुपण हुने बताए । सरकार र निजी क्षेत्रको सार्थक प्रयासबाट मात्रै ऊर्जा क्षेत्रको बृहत्तर विकास र विस्तार हुने तथा नयाँ अवसरको सिर्जना हुनेसमेत मन्त्री बस्नेतको भनाइ छ ।
ऊर्जा क्षेत्रको विकासका लागि आन्तरिक लगानीकर्तालाई प्रवर्द्धन गर्ने सरकारको योजना रहेको स्पष्ट पार्दै उनले भने, “आन्तरिक लगानीकर्तालाई प्रवर्द्धन गरेमात्रै विदेशी लगानी पनि भित्र्याउन सकिन्छ । हामीलाई थप लगानी चाहिएको छ । त्यसका लागि कानुनी तथा नीतिगत प्रबन्ध गर्न लागिएको छ ।” उनले आन्तरिकरुपमा पनि नदी करिडोरलाई केन्द्रमा राखेर चार सय केभी क्षमताका छ वटा प्रसारण लाइन निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको र त्यसले केही समयभित्रै सार्थकता पाउने बताए ।
ऊर्जामन्त्री बस्नेतले निजी क्षेत्रलाई पनि प्रसारण लाइन निर्माण तथा विद्युत् व्यापारमा सहभागी गराउने उद्देश्यका साथ सरकारले नीतिगत प्रबन्ध गर्न लागेको स्पष्ट पारे । उत्पादन, वितरण र प्रसारणलाई एकीकृतरुपमा अगाडि बढाउने उद्देश्यका साथ सरकारले एकीकृत कार्ययोजना बनाएर काम थालिसकेको जानकारी दिँदै उनले आफूहरुको जोड आन्तरिकरुपमा बिजुलीको खपत बढाउने नै भएको बताए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को हालै सम्पन्न भारत भ्रमणमा भएको सहमतिअनुसार १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यातसम्बन्धी विषयले समेत छिट्टै सार्थकता पाउने उनको भनाइ छ । यस्तै, बङ्गलादेशसँग पनि बिजुली निर्यातका लागि छिट्टै सम्झौतामा हस्ताक्षर हुने उनको भनाइ छ । बङ्गलादेशले तत्काल नै ४० मेगावाट बिजुली लैजाने तयारी गरेको छ । उनले निजी क्षेत्रलाई पूर्णरुपमा साथमा लिएर नै सरकार अगाडि बढ्न लागेको र सरकार, निजी साझेदारीलाई थप परिस्कृत कार्ययोजनाका साथ अगाडि बढ्ने बताए ।
निजी क्षेत्रको प्रवेशपछि ऊर्जा क्षेत्रमा गुणात्मक परिवर्तन भएको विषयमा आफू जानकार भएकाले थप लगानीका लागि आग्रह गरे । उनले केही आयोजनामा आवश्यक पर्दा मात्र नेपाल विद्युत् प्राधिकरणले बिजुली लिएको भन्ने निजी क्षेत्रको गुनासो सम्बोधन गर्न सम्बद्ध निकायसँग छलफल गर्ने स्पष्ट पारे । मन्त्री बस्नेतले विराटनगर, विरगञ्जलगायतका औद्योगिक क्षेत्रमा देखिएको बिजुलीको समस्या समाधान गर्न आफू तत्पर रहेको उल्लेख गरे ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालले प्राधिकरणले आवश्यक पर्दा मात्रै बिजुली किन्ने गरेकोले सबै उत्पादित बिजुली बिक्री गर्न नपाउँदा लगानीकर्ता समस्यामा परेको बताए । दोर्दी करिडोरमा प्रसारण लाइनको समस्याका कारण सञ्चालित आयोजना पूर्ण क्षमता चल्न नसकेको उनको भनाइ छ । अध्यक्ष ढकालले निजी क्षेत्रलाई लगानीका लागि सरकारले उत्प्रेरित गर्न ऊर्जामन्त्रीलाई आग्रह गरे ।
प्रतिक्रिया