आज हिन्दु नारीहरूको महत्त्वपूर्ण चाड हो तीज ! यो चाड भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिन मनाइन्छ । तीजमा हिन्दु नेपाली नारीहरूले भगवान् शिवको पूजा आराधनाका साथै नाचगान तथा मनोरञ्जनको रूपमा समेत लिने यो पर्वलाई आज विशेष रूपमा देशव्यापी रूपमा मनाइँदै छ । आजकल तीजमा अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन् ।
यस वर्षको तीज सङ्क्रान्तिका दिन वा आश्विन १ गते सोमबार, चतुर्थीयुक्त रहेको छ। हरितालिका तीज र गणेशजीको जन्म मङ्गल चतुर्थी एकै दिन परेको छ । यो अत्यन्त दुर्लभ घटना हो । यो चाडमा आफ्ना बाबुआमा, दाजुभाइले छोरी चेलीलाई घरमा बोलाउँछन् । मीठा–मीठा परिकार खुवाउँछन् । यसलाई दर खाने भनिन्छ ।
गीतका माध्यमबाट वा लयबाट मनका भावना एवं सुखदुख पनि साटासाट गरिने यस पर्वलाई दिदीबहिनीहरू आपसमा पनि नयाँ चिज वा सौभाग्यका वस्तु जस्तै: चुरा, पोते, टीका, धागा आदि आदान–प्रदान गर्छन् । पहिले पहिले घरघरमा तीजकै अघिल्लो दिन मात्र दरखाने चलन थियो भने अचेल १५–२० दिन पहिलादेखि नै समूह समूह मिलेर पार्टी प्यालेस वा होटलमा दराने चलन चलेको पाइन्छ । यसले गर्दा संस्कृतिलाई नै विकृति वा गह्रुँगो बनाउला कि भन्ने डर लाग्न थालेको छ ।
पौराणिक कथाहरूमा यस पर्वको विभिन्न आधार पाइन्छन् । कहीँ पार्वतीले भगवान् शिवलाई पति पाऊँ भनेर व्रतारम्भ गरेको भन्ने पाइन्छ । कतै शिवजीले नै पार्वतीलाई किशोरी अवस्थाका स्मरण गराउने उद्देश्यले यो तीजको कथा सुनाउनु भएको भन्ने पाइन्छ । शिवले पार्वतीलाई यसरी सम्झाउनु भएको थियो रे– ‘हे गौरी १ पर्वतराज हिमालयको घर अर्थात् तिम्रो माइतमा बस्दा गङ्गा तटमा तिमीले आफ्नो बाल्यावस्थामा अधोमुखी भई शिव पति पाऊँ भनी घोर तपस्या गरेकी थियौ ।
उक्त अवधिमा तिमीले कुनै अन्न पानी नखाई केवल हावाको मात्र सेवन गरेकी थियौ रे’ । त्यसैले अविवाहित किशोरीहरूले असल पति पाऊँ भनी शिवजीको पूजा आराधना गरेको भनिन्छ ।शिवजीलाई नै पति रूपमा प्राप्त गर्ने पार्वतीको चाहनाले तपस्या गरेकी थिइन् । तर त्यस विरुद्ध हिमालय पर्वतले विष्णुलाई विवाह गरिदिने कुरा गरेछन् । त्यसको विद्रोह गर्दै पार्वतीका सङ्गीसाथीहरूले जङ्गलमा लगेर लुकाएर राखेछन् । (संस्कृतमा आलि भनेको साथी) आलिभिर्हरिता वा साथीहरूद्वारा हरण गरिएकी भनेर हरितालिका नाम रहन गएको हो ।
उल्लिखित परम्पराअनुसार यो दिन महिलाहरूले नित्य कर्मका साथै दिनभरि जल अन्न ग्रहण नगरी निराहार वा निर्जला व्रत बस्ने गर्छन् भनिन्छ । बेलुकीपख छिमेकका दिदीबहिनीहरू भेला भई यो व्रतको उद्यापन (विसर्जन) गर्ने प्रचलन छ । दिनभरको निराहार भनिए पनि मध्याह्नमै पूजा आराधना गरी फलफूल ग्रहण गर्ने गर्दछन् । परिस्थिति मिलेका महिलाहरू नजिकको शिव मन्दिरमा गई शिवजीको आराधनाका साथै नाचगान तथा रमाइलो गर्ने गर्छन् । काठमाडौँको पशुपति मन्दिरमा दर्शन गर्ने महिला व्रतालुहरूको ठुलो भीड हुने गर्छ ।
यसै गरी हिन्दु परम्परामा हरेक दिन वा धार्मिक कार्य सम्पादन गर्न लाग्दा आँटेको कार्य सिद्ध होस् भनी विघ्न हर्ताका रूपमा पहिला गणेशको पूजा गर्ने चलन छ । उहाँको पूजा आराधना गर्दा तलको स्तुति भन्ने चलन छ । हुन त गणेशजीको स्तुति धेरै हुन सक्छन् । तर पनि प्रतिनिधिमूलक रूपमा यहाँ एउटा स्तुति श्लोक दिइएको छ ।
प्रतिक्रिया