सडकबत्ती प्रयोग गरेबापत ६ अर्ब ८ करोड तिर्न बाकी,काठमाडौँ न.पा.अग्रस्थानमा

६ महिना अगाडि

सडक बत्तीका लागि विद्युत् उपभोग गरेका देशभरका ३०० बढी स्थानीय तहले विद्युत् महसुल नतिरेको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार २०८० असार मसान्तसम्म पालिकाहरूले सडक बत्तीका लागि विद्युत् उपभोग गरेबापत ६ अर्ब ८ करोड ९४ लाख रुपैयाँ रकम भुक्तानी गरेका छैनन्। 

महसुल नतिर्नेमा महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाहरू छन्। सहरी तथा बस्ती भएको क्षेत्रमा पालिकाहरूले सडक बत्ती जडान गर्दै आएका छन्। त्यसबापत उठ्ने विद्युत् महसुल पालिकाहरूले विद्युत् प्राधिकरणलाई भुक्तान गर्नुपर्ने हुन्छ। 

प्राधिकरणले आज सार्वजनिक सूचना प्रकाशित गर्दै अबको ४५ दिनभित्र सडक बत्ती बापतको बक्यौता रकम भुक्तानी गर्ने भनेको छ। ४५ दिनभित्र बक्यौता भुक्तानी नगरिए विद्युत् महसुल सङ्कलन नियमावली २०७८ को विनियम १० को प्रावधान बमोजिम कारबाही हुने प्राधिकरणले जनाएको छ। 

साथै अनुमति नलिई, बिना मिटर जडान गरिएका सडक बत्तीहरू सम्बन्धित वितरण केन्द्रहरूमा सम्पर्क राखी ४५ दिनभित्र नियमानुसार मिटर जडान गर्न पनि प्राधिकरणले ताकेता गरेको छ।  सडक बत्तीका लागि विद्युत् उपभोग गर्ने, तर बिल भुक्तानी गर्न सबैभन्दा बढी रकम काठमाडौँ महानगरपालिकाको छ।

काठमाडौँ महानगरपालिकाले १ अर्ब ७८ करोड ९७ लाख ६८ हजार रुपैयाँ तिर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ। ललितपुर महानगरपालिकाले २४ करोड ४१ लाख ३० हजार रुपैयाँ भुक्तानी गर्न बाँकी छ। भरतपुर महानगरपालिकाले १३ करोड ३४ लाख ३३ हजार रुपैयाँ तिर्न बाँकी रहेको छ। 

NEA_LG_Due_amount ktm

६ महिना अगाडि

प्रतिक्रिया