कार्यशैलीमा सुधार गर्न कर्मचारीलाई ऊर्जा मन्त्री बस्नेतको आदेश

६ महिना अगाडि

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मन्त्रालय र मातहतका निकायका कर्मचारीलाई देश र जनताको हितलाई केन्द्रमा राखेर प्रभावकारी रुपमा काम गर्न निर्देशन दिएका छन् । 

साथै उनले सबै तहका कर्मचारीलाई आफ्नो कार्यशैली सुधार गर्न निर्देशन पनि दिएका हुन् । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा कर्मचारीहरूलाई निर्देशन दिँदै मन्त्री बस्नेतले कुनै पनि निकायमा काम रोकिएको वा आम नागरिकले दुःख पाएको भन्ने गुनासो नआउने गरी काम गर्न आग्रह गरेका छन् । 

 पछिल्ला दिनमा ऊर्जा उद्यमी तथा सरोकारवालाले विद्युत् विकास विभागको काम प्रभावकारी नभएको गुनासो आएकाले त्यसलाई सम्बोधन गर्न, कमजोरी सुधार गर्न, संरचनागत वा कानुनी समस्या भए समाधानका निम्ति आफूसँग परामर्श गर्न कर्मचारीलाई निर्देशन दिएका हुन् ।

ऊर्जा मन्त्रीले प्रसारण लाइन निर्माणमा देखिएको बेथिति सुधार गर्ने स्पष्ट  कार्य योजना पेस गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिए । उनले पथलैया –वीरगन्ज र ढल्के बर–इनरुवा खण्डको प्रसारण लाइन निर्माणका समस्या हिउँद अगावै समाधान गर्नुपर्ने बताएका हुन्।

छलफलमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपाल सिग्देल, सहसचिव द्वय नवीन राज सिंह, सन्दीपकुमार देव, सिँचाइ विभागका महानिर्देशक, विद्युत् विकास विभाग, नेपाल विद्युत् प्राधिकरणका पदाधिकारीको सहभागिता थियो। 
 

६ महिना अगाडि

प्रतिक्रिया