चिस्यान केन्द्र बनेसँगै मुस्ताङमा स्याउ कुहाएर फाल्नुपर्ने समस्या हट्यो

आइतबार, २८ असोज २०८०, ०७ : ३८

 चिस्यान गृहमा भण्डारण गर्ने सुविधा भएपछि मुस्ताङका कृषकको स्याउ कुहिएर फाल्नुपर्ने समस्या हट्न थालेको छ। याममा व्यापारीले भनेको मूल्यमा बेच्नुपर्ने र बढी मूल्य पार्न लामो समय खुला ठाउँमा भण्डारण गरेर राख्दा स्याउ कुहिएर क्षति व्यहोर्नुपर्ने  समस्या हटेको हो। घरपझोङ  गाउँपालिका–२ मार्फाका राजु लालचनले  सुरक्षित भण्डारण गर्ने सुविधा भएपछि कृषकले भनेको मूल्य र बजार दुवै पाउन थालेको बताए।

‘पहिले बोटबाट टिपेको स्याउ आफ्नै तरिकाले भण्डारण गरेर राख्दा ७० प्रतिशतभन्दा बढी कुहिएर फाल्नुपर्ने समस्या थियो’, उनले भने, ‘यस याममा प्रतिकिलो ९० देखि १०० रुपैयाँ पर्ने स्याउ चिस्यान गृहमा राख्दा बेमौसममा दोब्बर बढी मूल्य पार्न सकिन्छ।’

चिस्यान गृहमा असोजदेखि चैतसम्म स्याउ राख्दा गुणस्तर, आकार र तौलमा कुनै फरक नआउने मार्फाका अर्का कृषक विश्व लालचनको  छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको स्याउ जोन कार्यक्रमको ८५ प्रतिशत अनुदानमा राजुले यस वर्ष र विश्वले अघिल्लो वर्ष १०९१० मेट्रिक टन क्षमताको चिस्यान गृह बनाउनुभएको थियो।

१४ लाख रुपैयाँ लगानी भएको चिस्यान गृह बनाउन स्याउ जोनले ११ लाख रुपैयाँ अनुदान दिएको थियो। ‘असोज–कात्तिकमा व्यापारीले जति भन्यो त्यति मूल्यमा स्याउ बेच्नुपर्छ’, विश्व लालचनले  भने, ‘चारदेखि पाँच महिना चिस्यान गृहमा राखेको स्याउ दोब्बर बढी मूल्यमा गाउँबाटै बिक्री हुन्छ।’

चिस्यान गृह नहुँदा मुस्ताङका कृषकले घरको कोठा,चिसो ठाउँमा स्याउ थुपारेर भण्डारण गर्दथे। यसरी राख्दा तापक्रम नमिलेर कुहिने गरेको थियो। बिक्री नहुने स्याउ घोडा, खच्चर, गाई गोरुलाई खुवाउने गरिन्थ्यो।‘वातावरण अनुकूल बनाउन उपकरण जडान भएको चिस्यान गृहमा भण्डारण गर्दा बजार नपाउने समस्या हट्नुका साथै बढी मूल्यमा बिक्री गर्न पाएका छन्’

उनले भने, ‘मुस्ताङमा प्रभावकारी भएकाले चिस्यान गृहको माग बढी छ।’ मुस्ताङको एक हजार ४७५ हेक्टर क्षेत्रफलमा स्याउ खेती भएकामा ५८० हेक्टर क्षेत्रफलमा लगाइएको स्याउ बोटले उत्पादन दिने गरेको छ। ३८ हेक्टर क्षेत्रफल जमिनमा इटलीबाट ल्याइएको उच्च घनत्वको स्याउ खेती भएको छ।

आइतबार, २८ असोज २०८०, ०७ : ३८

प्रतिक्रिया