अन्तरपुस्ता सम्बन्ध : अनुभव र नवीनताको सुन्दर तालमेल

विहीबार, ०७ साउन २०८३, १० : २५

हाम्रो परिवारमा अहिले हामी चार पुस्ता छौँ । आमाको परम्परागत ज्ञान अनुभव र आध्यत्मीकता, छोरा छोरीको नवीनता, प्राविधिक सीप र दक्षता अनि नातिनीको छुनुमुनु र मुस्कानमा खुसीका साथ बाँचेको छ यो परिवार । नेपालमा गतवर्ष जेनजेड पुस्ताले गरेको आन्दोलन पछि पुस्ताहरू बीचको सम्वन्ध, आपसी विश्वास र भरोसामा केहि दरार आएको महसुस भएको छ । खास गरि केहि अतिबादिहरुले पुरानो पुस्ता र उनिहरुको ज्ञान, सीप र अनुभव तथा योग्यता र दक्षतालाई पूर्णतः नकारेको पाईन्छ । 

छोरा पुस्ताको एउटा सानो वर्ग अहिले बाबु पुस्तालाई केही नजान्ने, उनिहरुको अध्ययन, अनुसन्धान र अनुभव सबै बासी भएको करार गर्न सामाजिक सञ्जालमा सक्रिय छ । उनीहरू आफूलाई सबै विषयमा सर्वज्ञानी र सर्वज्ञ भएको ठान्छन् । उनिहरुमा एउटा भ्रम छ कि हामीले सबै जानेकोले कसैले सिकाउन र सम्झाउन आवश्यक छैन् । उनीहरू जे सोच्छन्, जे बोल्छन् र जे लेख्छन् त्यो नै अन्तिम सत्य हो ।

तर, मानव सभ्यताको विकास तथा समाजको मुल्य, मान्यता र अनुशासनको निरन्तरताका लागि अघिल्लो पुस्ता (आमाबुबा र हजुरबुबा, हजुरआमा) र नयाँ पुस्ता (छोराछोरी र नातिनातिनी) विचको सम्बन्ध सुमधुर हुनु अत्यावश्यक छ । एक पुस्ताले अर्को पुस्ताबाट सिक्नु नराम्रो कुरा होइन । पुस्ताहरु बीचको मायाँ प्रेम र विश्वास सहितको सुमधुर सम्वन्धले व्यक्ति, परिवार र समाज बलियो बनाउँछ । 

त्यसकारण आजको आधुनिक र प्रविधियुक्त युगमा अन्तरपुस्ता सम्बन्ध आपसी विश्वास, सहयोग, छलफल र सिकाइको आदान प्रदानबाट अघि बढ्न जरुरि छ । यो आलेखमा अन्तरपुस्ता सम्वध के हो र कस्तो हुनुपर्छ भन्ने विषयमा छलफल गर्ने प्रयास गरिएको छ । 

अन्तरपुस्ता सम्बन्ध भनेको विभिन्न उमेर समूह बीचकोे सहकार्य, सहयोग, सम्मान र अनुभवको आदान प्रदान हो । यो सम्वन्धले पाका पुस्ताको ज्ञान, अनुभव र संस्कार तथा नयाँ पुस्ताको ऊर्जा, नवीन सोच तथा प्रविधिको प्रयोगमा सन्तुलन कायम राख्छ । पाका पुस्तासँग जीवनको लामो अनुभव, संघर्ष तथा व्यावहारिक ज्ञान र सीप हुन्छ । उनीहरूसँग भएको सामाजिक, सांस्कृतिक तथा आध्यात्मिक ज्ञान नयाँ पुस्ताका लागि मार्गदर्शक बन्न सक्छ । अर्कोतर्फ, नयाँ पुस्तासँग नयाँ प्रविधिको ज्ञान र सीप छ, काम गर्ने अठोट र सिर्जनात्मकताका साथै नवीन विचार र नवप्रवर्तनात्मक सोच छ । यि दुबै गुणलाई एक आपसमा फ्युजन गराएर अगाडि बढेको समाज सबभन्दा सुन्दर र प्रगतिशिल हुन्छ । 

अन्तरपुस्ता बीचको सकारात्मक सम्वन्धले परिवारमा भावनात्मक सहयोगको अभिवृद्धि र जेष्ठ नागरिकमा हुने एक्लोपनमा कमी महसुस हुन्छ । मानिसको उमेर बढ्दै जाँदा आफ्ना साथी, परिवारका सदस्य तथा नातेदारहरु गुमाउँदै जान्छ । जसको कारण उसमा एक्लोपन, पिडा र शोकको मात्रा बढेदै जाने हुन्छ । यस्तो समयमा परिवार वा समाजका युवा सदस्यले जेष्ठ नागरिकलाई ढाडस दिने, सम्वाद गर्ने, छोटो समय भए पनि सँगै बस्ने, अन्तरक्रिया गर्ने कार्यले उनिहरुलाई आराम महसुस हुन्छ, गिरेको आत्माबल बढ्छ र मानवीय सम्बन्धको नयाँ अनुभूति प्रदान गर्दछ । 

जर्नल अफ एप्लाइड जेरोन्टोलोजी मा २०२५ मा प्रकाशित एक अध्ययन प्रतिवेदनका अनुसार अन्तरपुस्ता अन्तरक्रियाले जेष्ठ नागरिकमा एक्लोपन कम गर्न, सामाजिक संलग्नता बढाउन, संज्ञानात्मक गिरावट रोक्न तथा परिवार र समाजमा आफ्नो मूल्य महसुस गराउन सहयोग पुग्छ । त्यसै गरी एजिङ रिसर्च रिभ्युज पत्रिकामा २०२१ नोभेम्वरमा प्रकाशित अन्तरपुस्ता सम्बन्धी ४४ वटा अध्ययनहरूको सारांसका अनुसार जेष्ठ नागरिकमा चिन्ता कम गर्न तथा परिवार र समाजमा मैले योगदान दिइरहेको छु भन्ने भावना विकास गर्न अन्तरपुस्ता सम्वाद महत्वपूर्ण रहेको जनाएको छ । 

जेष्ठ नागरिकहरु हिनताबोध नगरि युवासँग छलफल गर्ने, युवाको कार्यमा संलग्न हुने, युवाका जिज्ञासु प्रश्नको जवाफ दिने, उनीहरूसँग नयाँ प्रविधि सिक्ने वा उनिहरुका रचनात्मक कार्यमा सहकार्य गर्ने हो भने उनिहरुको दिमाग सक्रिय हुनुका साथै दैनिक जिवन क्रियाशील र जिवन्त हुन्छ । 

अन्तरपुस्ता सकारात्मक सम्वन्धबाट जेष्ठ नागरिकलाई जति फाइदा छ, त्यतिकै फाइदा युवा पुस्तालाई पनि छ । सामाजिक सञ्जाल र स्क्रिनमा तिलस्मी संसार देखेको युवा वर्गमा वास्तविक संसार र बुबा आमाले बिताएको संघर्षपूर्ण जीवनको बारेमा पटक्कै थाहा नहुन सक्छ । त्यसैले युवा पुस्ताले आफ्ना अभिभावकको दशकौंको जीवन अनुभव र यात्रा, जीवनको आरोह र अवरोह तथा सुखद र कठीन समयको बारेमा सुन्दा आगामी पाइला कसरी र कता चाल्दा सफल जीवन बिताउन सकिन्छ भन्ने बहुमूल्य ज्ञान र दृष्टिकोण प्राप्त गर्न सक्छन् । 

जेष्ठ नागरिक पारिवारिक इतिहास र बिरासत, सांस्कृतिक परम्परा र सम्पदा तथा सामुदायिक स्मृति र सम्पतिका पुस्तकालय हुन ्। उनीहरूसँग सम्वाद गर्नाले आजका युवाले आफू उभिएकोे जमीनको बारेमा जान्न, आफ्नो कुल र बंसजको सांस्कृतिक सम्पदा बुझ्न, र पहिचान र अपनत्वको भावना विकास गर्न सक्छन् । यो प्रकृयामा सामेल हुने युवाहरु आफू कहाँबाट आएको हो, उनि को हुन् भन्ने उनीहरूको बुझाइलाई समृद्ध बनाउँछ । यदि यस्ता किसिमका अन्तरपुस्ता सम्वाद नहुने हो भने पुस्ता बित्दै जाँदा समाजका मूल्य, मान्यता, परम्परा र सांस्कृतिक ज्ञान हराउने जोखिम हुन्छ ।

अझ आर्थिक र राजनीतिक क्षेत्रमा त अनुभव अत्यन्तै महत्वपूर्ण हुन्छ । युवामा जोश जाँगर र सक्रियता हुन्छ । छिट्टै खाउँ जल्दि मरौँ भन्ने उखान युवामा बढी लागु हुने देखिन्छ । राज्य संचालनमा हतार गरेर मात्र हुँदैन । संयमता, हिजोको उदाहरण, ऐतिहासिक परिप्रेक्ष्य तथा कतिपय नजिर र कानुनी तथा व्यबहारिक पाटोलाई केलाएर मात्र निर्णय लिनु पर्छ । अनुभवी र पाका राजनीतिज्ञसँगको सम्वाद हिनताको कारण नियत सफा हुँदा पनि अहिलेको सरकारले कतिपय अपरिपक्व निर्णय गरेको पाइन्छ ।    

अन्तरपुस्ता सम्बन्धले पुस्ताहरू बीच आपसी ज्ञान, सीप र व्यावहारिक पक्षको आदान प्रदान गर्ने दुईतर्फी सडक सिर्जना गर्छ जुन सडकमा रोबोटहरु नदौडेर पुस्ता पुस्ता बीचको मानवीय संवेदना र करुणा, आपसी मान र सम्मान, मायाँ र प्यार अनि सहानुभूति र सहअस्तित्व दौडने गर्छन् ।   

आजको साहित्य, संस्कृति र समाजको जुन बिकशित स्वरुप र बनोट छ त्यो कसैको जादुको छडिले एकै दिनमा भएको उपलव्धि होइन । कयौँ अग्रणीहरुको ऐतिहासिक योगदान र बलिदानबाट पाप्त परिणाम हो यो । त्यसैले इतिहासको बिरासतलाई आजको युवा वर्गले बुझ्नु पर्छ र त्यसलाई जोगाउन भूमिका खेल्नु पर्छ । कतिपय युवाका हलुका टिप्पणी सुनिन्छ कि हामी इतिहासको भारी बोक्दैनौँ । हाम्रो अग्रणी पुस्ताले जानी नजानी कमजोरी गरेका छन् भने सच्याउने जिम्मेवारी युवा पुस्ताको हो । 

तर, इतिहास पूर्णतः अस्वीकार गर्नु मुर्खता हो । अन्तरपुस्ता सम्बन्धको मुख्य आधार नै सम्मान, सहभाव र समझदारी हो । नयाँ पुस्ताले पाका पुस्ताको विचार र योगदानलाई सम्मान गर्नुपर्छ भने, पाका पुस्ताले समयको परिवर्तनसँगै नयाँ पुस्ताका आकांक्षा, विचार, र जीवनशैलीलाई स्वीकार गर्नुपर्छ । दुवै पक्षले एक अर्कालाई बुझ्ने प्रयास गरेमा अन्तरपुस्ता दूरी (जेनेरेसन ग्याप) लाई सजिलै कम गर्न सकिन्छ । 

अन्तरपुस्ता सम्वन्धलाई जीवन्त, सुमधुर र दिगो बनाउनको लागि सबभन्दा महत्वपूर्ण पक्ष पुस्ता पुस्ता बीचको खुला र स्वस्थ वाद, संवाद र अन्तरक्रिया हो । परिवार, समाज वा राजनीतिक क्षेत्र जहाँ भए पनि युवा र अनुभविहरु सँगै बसेर आफ्नो पुस्ताका समस्या, भावना, अनुभव र विचार निर्धक्क राख्ने र एक अर्काले धैर्यपूर्वक सुन्ने हो भने एक आपसमा अपमान गर्ने वा होच्याउने वातावरण नै बन्दैन । 

नेपालको आजको समाजको परिदृष्य हेर्दा लाग्छ युवा र अनुभवि दुबै पुस्ता कतै न कतै अहङ्कार र आग्रहबाट ग्रसीत छन् । पाका पुस्तामा हामीले धेरै देखेका छौँ, अनुभव गरेका छौँ, भोगेका छौँ र संघर्ष गरेर यहाँ सम्म आइपुगेका हौँ भन्ने भावना छ । नयाँ पुस्तामा हामीले धेरै पढेका छौँ, जानेका छौँ, प्रविधिमा पोख्त छौँ र विश्व बुझेका छौँ भन्ने सोचाई छ । वास्तवमा दुबै सोचाई सत्य हुन् तर यस्को अर्थ दुबै सर्वज्ञानी र सर्वज्ञ छन् भन्ने होइन । दुबै पुस्तामा भएको सम्पत्तिलाइृ एउटै डालोमा राखेर घोल्ने र लगानी गर्ने हो भने परिवार, समाज र देशले छोटो समयमा प्रगतिको फड्को मार्न सक्छ । 

अन्त्यमा,

अन्तरपुस्ता सम्वन्धले विभिन्न पुस्ताहरू बीचको सम्बन्ध, सञ्चार र सहयोगलाई जनाउँछ । यो सम्बन्ध हाम्रो संस्कृति, ज्ञान, र परम्परालाई एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्न, सामाजिक एकता बलियो बनाउन र समाजलाई स्वस्थ रूपमा अगाडि बढाउन महत्वपूर्ण छ । अन्तरपुस्ता सम्बन्ध एक–अर्कालाई पछाडि पार्ने प्रतिस्पर्धा होइन । यो त एक–अर्कालाई साथ दिँदै अघि बढ्ने सहकार्य हो । 

अघिल्लो पुस्ताको जगबिना नयाँ पुस्ताको भविष्य निर्माण हुन सक्दैन र नयाँ पुस्ताको ऊर्जाबिना पाका पुस्ताको सपना अधुरै रहन्छ । त्यसैले, प्रेम, सम्मान, र सहिष्णुताको भावनाका साथ सबै पुस्ता एकताबद्ध भएर अघि बढ्न सकेमा एउटा सुसंस्कृत, सभ्य र समृद्ध समाजको निर्माण हुन्छ । 

प्रविधिको विकास र बढ्दो सहरीकरणका कारण आज यो सम्बन्ध केही कमजोर बन्दै गएको छ । त्यसैले, हामी सबैले आ–आफ्नो परिवार र समाजमा विभिन्न पुस्ताबीचको संवाद र अन्तरक्रियालाई बढावा दिदै आफू भन्दा ठूलालाई आदर, सम्मान र श्रद्धा तथा आफू भन्दा सानालाई माया, प्रेम र प्यार गर्ने र सबैले सबैका कुरा सुन्ने वातावरण सिर्जना गर्नु अत्यावश्यक छ ।
 

विहीबार, ०७ साउन २०८३, १० : २५

प्रतिक्रिया