विराटनगर–६ शनि मन्दिर चोकबाट मङ्गलवार दिउँसो स्रोत नखुलेको २२ लाख रुपैयाँसहित १६ वर्षीय एक किशोर पक्राउ परेका छन् । प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार विशेष सूचनाको आधारमा खटिएको प्रहरीले किशोरले बोकेको कालो झोलाबाट २२ लाख रकम बरामद गरेको हो। उक्त रकम अवैध हुनसक्ने प्रहरीको अनुमान छ ।
किशोरको साथबाट नेपाली रुपैयाँ २१ लाख ८७ हजार केही सय बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। उक्त रकम अवैध हुन्डी कारोबारको भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ। प्रहरीले उक्त युवाको साथबाट एक हजार दरका १ हजार ६८७ थान र पाँच सय दरका १ हजार थान रुपैयाँ बरामद गरेको थियो ।
त्यसै गरी उनको साथबाट बलराम केसरीको नाममा रहेको कुमारी बैङ्कको एक थान चेक, रञ्जित कुमार साहको नाममा रहेको एनआईसी एसिया बैङ्कको चेकमा उमेशकुमार भगतको नाममा काटिएको ८६ हजारको चेक, ग्लोबल आईएमई बैङ्क लिमिटेडमा विभिन्न मितिमा १६ लाख ६९ हजार ५ सय रुपैयाँ जम्मा गरेको रसिद ४ थान र उनले प्रयोग गरेको प्रदेश १–०२–०४३ प ६२४१ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ।
उनलाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखेर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया