मापदण्ड विपरीत सञ्चालन भएको खानेपानी उद्योग ‘सिलबन्दी’

विहीबार, १६ कार्तिक २०८०, ०७ : ५७

काठमाडौँको टोखा नगरपालिका–३ चक्खुस्थित मापदण्ड विपरीत सञ्चालित एक खानेपानी उद्योग सिल गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको संयोजनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काठमाडौँ, काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डसमेतको टोलीले आज नाम ठेगाना नखुलेको एक उद्योगको स्थलगत निरीक्षण तथा अनुगमन गरी सिल गरेको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य निरीक्षक पद्मराज भुसालले उद्योगको भौतिक, पूर्वाधार प्रशोधित पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका विपरीत रहेका कारण अनुगमन टोलीले प्रशोधन कक्षको दुई ढोकामा सिल छाप गरी उत्पादन कक्ष बन्द गराएको जानकारी गराउनुभयो।

सेवा प्रदायकको दर्ता प्रमाणपत्र र सञ्चालक फेला नपरेको तर उद्योग परिसरभित्र ‘कञ्चनजङ्घा नेचुरल स्प्रिङ मिनिरल वाटर इन्डस्ट्रीजी’ लेखेको स्टिकर, जार भर्ने धारामा कपडा लगाएको, कार्यालय कक्षको भित्तामा नेपाल बोतल वाटर उद्योग सङ्घले मेरिना कायस्थलाई सह कोषाध्यक्षको प्रमाण पत्र दिएको प्रमाणपत्रलगायत प्रमाण फेला परेका छन् ।

सम्बन्धित स्थानीय निकाय, प्रहरी प्रभाग, टोखासहित अनुगमन टोलीले मापदण्ड विपरीत सञ्चालित उक्त उद्योगको मुचुल्का खडा गरी उत्पादन कक्ष बन्द गरेको हो । उक्त टोलीले आजै आक्वा मिनरल्स नेपाल प्रालि र ग्राण्ड खानेपानी सेवा प्राइभेट लिमिटेडको पनि अनुगमन गरेको छ । 

खानेपानी गुणस्तरका पारा मिटरमध्ये केही परीक्षण गरिएकामा न्यूनतम मापदण्ड पूरा भएको तर थप परीक्षणको विवरण आउन बाँकी रहेको काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जीव विक्रम राणाले जानकारी दिनुभयो । मन्त्रिपरिषद्को कार्यालयको संयोजनमा सम्बन्धित टोलीले मङ्गलवार कागेश्वरी मनोहरा नगरपालिका–४, थलीस्थित उत्तर बाहिनी फुड एण्ड वेभरेज प्रालिमा गरिएको स्थलगत अनुगमनमा खानेपानीको गुणस्तरमा न्यूनतम मापदण्ड पूरा नभएको जनाएको थियो ।

खानेपानी वितरणको जिम्मेवारी लिएका उपभोक्ता समिति, संस्थागत वा निजी कम्पनी जस्ता सेवा प्रदायक संस्था कानुनतः उपभोक्तालाई गुणस्तरीय पानी बिक्री वितरणका लागि जिम्मेवार हुन्छन् । खानेपानी सञ्चालन प्रणालीको उचित रेखदेख, निरीक्षण, सम्भार, नियमित परीक्षण र पानी उपचार विधिको अवलोकन गर्ने जिम्मेवार पक्ष सेवा प्रदायक नै हो र उपभोक्तालाई सुरक्षित तथा गुणस्तरीय पानी उपलब्ध गराउने जिम्मेवारी सेवा प्रदायको हुन्छ । तर व्यवहारमा भने सो नभएको पाइएको छ ।

विहीबार, १६ कार्तिक २०८०, ०७ : ५७

प्रतिक्रिया