हिमालयन रि इन्स्योरेन्सको आइपिओ निष्कासन मिति परिवर्तन कहिलेसम्म सर्‍यो  ?

सोमबार, २० कार्तिक २०८०, १० : २२

हिमालयन रि इन्स्योरेन्स लिमिटेडले कात्तिक २१ गतेदेखि निष्काशन तथा बिक्री खुला गर्ने भनिएको आईपीओको निष्काशन मिति परिवर्तन गरेको छ।  कम्पनीले अब मङ्सिर ४ गतेदेखि आइपिओ निष्काशन तथा बिक्री खुला गर्ने मिति तय गरेको हो।

कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरूका लागि आइपिओ निष्काशन गर्न लागेको हो। कम्पनीले हाल कायम जारी पुँजी १०अर्ब रुपैयाँ बराबरको ३० प्रतिशतका दरले ३ अर्ब रुपैयाँ बराबरको ३ करोड कित्ता शेयर निष्काशन गर्ने अनुमति प्राप्त गरेको थियो।

सोमध्ये पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ३० लाख कित्ता, कम्पनीमा कार्यरत कर्मचारीहरूका लागि ६ लाख कित्ता, सामूहिक लगानी कोषका लागि १५ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो।

कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अङ्कित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा शेयर निष्काशन गर्न लागेको हो। कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ३ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। कम्पनीको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले अब मङ्सिर १८ गतेसम्म आवेदन दिन सक्नेछन्।
 

सोमबार, २० कार्तिक २०८०, १० : २२

प्रतिक्रिया